विपदमा पीडितको टेको बन्दै धीरा खत्री



कार्तिक १५, २०७८ मा न्युज कारोबारमा प्रकाशित   

भूमिराज पिठातोली

काठमाडौं । वर्षभरि सुख्खा रहने खहरे खोलाहरु पनि उर्लिरहेका थिए । भिरालो जमिनमा घर भएका तथा बगरमा घर भएकाहरु राति सुत्न सकेका थिएनन् । पहिरोको जोखिममा आवास भएकाहरु आफन्तको शरणमा पुगेका थिए । यो समस्या बझाङको खप्तडछान्ना गाउँपालिकाका स्थानीयहरुको हो । शताब्दीकै ठूलो बेमौसमी झरीले छान्ना क्षेत्र तीन दिनसम्म त अँध्यारोमै रह्यो । बत्ती, टेलिफोन, इन्टरनेट सबै बाढी पहिरोले खोस्यो । गाउँलेलाई समेत आफ्नो गाउँमा कति क्षति भयो भन्ने जानकारी भएन । पाइलैपिच्छे जस्तै गएका पहिरोले एक टोलबाट अर्को टोलमा जान सक्ने अवस्था पनि भएन ।


****


खप्तड छान्ना गाउँपालिका-१ की गीता जेठाराको परिवार गाउँमा सम्पन्न परिवारमा गनिन्थ्यो । उनको परिवारले बेसा (अन्न) किन्नु पर्दैनथ्यो । वर्षभरि गाउँघरमा आउने विकास निर्माणका काममा गएर आएको पैसाले तेल, साबुन गर्न पुगेकै थियो । जग्गा जमिन पनि प्रशस्तै भएका जेठारा परिवारलाई जीवन धान्न खासै चिन्ता थिएन । विडम्बना बेमौसमी चार दिनको झरीले उनको परिवारलाई घर न घाटको बनायो । मानवीय क्षति नभए पनि सम्पति सर्वस्व गुम्यो । छान्नामा गीताको परिवार मात्रै होइन, उनीजस्तै दर्जनभन्दा बढी परिवारको सम्पतिको नाममा सर्वस्व गुम्यो । ६ जनाको ज्यानसमेत गयो ।

झरी रोकिएको दुई दिनपछि टेलिफोन सेवा सुचारु भए । त्यसपछि स्थानीयले सबै निकायमा आफ्ना समस्याहरु राख्न थाले । जिल्लामा सम्पर्क गरेको दुई दिनसम्म पनि कुनै निकाय बाढी पहिरो गएको ठाउँमा पुगेनन् । प्रभावित क्षेत्रमा बाटो अवरुद्ध भन्दै कसैको आगमन भएन । केही दिनमा सुदूरपश्चिम सरकारले हेलिकोप्टरमार्फत् अवलोकन ग-यो । दोस्रो दिन फेरि हेलिकोप्टरमार्फत् नै दुई/चार बोरा राहतको नाममा चामल उपलब्ध गरायो ।

प्रभावित क्षेत्रमा हप्ता दिनसम्म प्रदेश सरकारबाहेक कुनै निकायको उपस्थिति भएन । पीडित स्थानीयहरु बाहिर गएका आफन्तहरुलाई सहयोगका लागि गुहार्न थाले । सदरमुकाम चैनपुरमा रहेकी खप्तडछान्ना गाउँपालिका-४ की धीरा रोकाया खत्रीलाई पनि आफन्तले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराए र सहयोगका लागि अपिल गरे । आफन्तको खबरभन्दा अघि नै छान्नाको अवस्थाबारे खत्रीले जानकारी पाइसकेकी थिइन् । एक्लै भए पनि पीडितलाई भेट्न जाने निधो गरिसकेकी थिइन् ।तर, उनी एक्लै जान सक्ने अवस्था थिएन । घरमा दूधे बालकलाई हेर्ने मान्छेसमेत थिएनन् ।

प्रभावित क्षेत्रमा जाँदा अवरुद्ध बाटो छिचोल्दै दूधे बालकलाई काखीमा च्यापेर हिड्नुपर्ने हुन्थ्यो । श्रीमान् राजेन्द्र पनि कामको शिलशिलामा राजधानी गएका थिए । धीरालाई भने पीडित परिवार भेट्न नपाएकोमा छट्पटी भइरहेको थियो । पछि आफन्तको सहयोग मिल्यो र दूधे बालकलाई आफन्तको जिम्मा छोडेर उनी प्रभावित क्षेत्रतर्फ लागिन् ।

छान्ना प्रवेश लगत्तै खाती गाउँ आउँछ । खातीगाउँको खेतीयोग्य जमिन र केही घरहरूको नाम निशाना थिएन । बगर भइसकेको थियो । वर्षभरि खानलाई पुगेर अन्न बेच्ने गाउँलेहरु ‘कनिका’ को समेत पखाईमा थिए । पर्याप्त उब्जनी हुने बिघौं जमिन बगरमा परिणत भएको थियो । पीडितको टेको बन्न गएकी धीराले सर्वस्व गुमाएका दुई परिवारलाई आर्थिक सहयोग गरिन् । खाद्यान्न बोकेर जान सम्भव थिएन । स्थानीय शौंरे खाती र बासुदेवी खातीको परिवारलाई नजिकैको पसलमा जम्मा बचेको खाद्यान्न किन्नका लागि १०/१० हजारका दरले २० हजार रूपैयाँ सहयोग गरिन् । उनीहरु आफन्तको शरणमा सहारा लिइरहेका थिए ।

जिम्मेवार कुनै निकाय उपस्थित नहुँदा पनि बिना जिम्मेवारीमा रहेकी रोकायाले आर्थिक सहयोग गरेपछि उनलाई स्थानीयहरू ‘बेसहाराकी सहारा’ आँसु चुहाउन थाले । खाती गाउँमा मात्रै नभएर अन्य विभिन्न वडाहरूमा पनि पीडितहरूले खत्रीको सहारा खोजिरहेका थिए । खत्रीसहित उनका आफन्तहरु सुदूरपश्चिमाञ्चल विद्या सदनकी प्रिन्सिपल सरस्वती खत्री र संस्थापक कुम्भराज खत्रीले गाउँपालिकाभरि ज्यान गुमाएका तथा सर्वस्व सम्पति गुमाएका १२ परिवारलाई एक लाख ५० हजार रुपैयाँ सहयोग गरे ।

प्रकाशित लिंक

विपदमा पीडितको टेको बन्दै धीरा खत्री

खप्तड छान्ना गाउँपालिकामा बेमौसमी झरीबाट आएको बाढी पहिरोमा परी ६ जनाले ज्यान गुमाए भने सयौं परिवार घरबारबिहीन भएको धीराले बताइन् । न्युज कारोबारसँग कुरा गर्दै उनले भनिन्, ‘यस्तो विपद्मा जिम्मेवारी भूमिकामा रहेकाहरुले पीडित परिवारलाई सामान्य सान्त्वना नदिँदा पनि विचल्लीमा परेका छन् ।’ प्रदेश सरकारले दिएको राहत दोस्रो दिननै सकिएको भन्दै स्थानीयले आफूलाई पहल गर्न अनुरोध गरिरहेको उनले बताइन् ।

‘स्थानीय सरकार अहिलेसम्म पीडित परिवारलाई भेट्नसमेत गएको रहेनछ,' उनले भनिन्, 'पीडित परिवारले आफ्नो पीडा सुनिदिने निकायसमेत पाएको छैन । ती परिवारले सरकार भएको महशुस पनि गरेका छैनन् ।' खत्रीको नजरमा जनताको अभिभावक भनेको सरकार हो । ‘जनता छैन भने केको सरकार ? राजनीतिज्ञले पनि कसका लागि राजनीति गर्ने ? त्यसैले अप्ठेरोमा परेका नागरिकलाई समयमै सहारा दिनु सरकारको कर्तव्य हो । सबै तहका सरकारले चाडै सोचुन् । पीडितहरूको सहज रूपमा दिगो व्यवस्था गर्न अनुरोध गर्दछु ।' उनले भनिन् ।

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन

खप्तड : प्रकृतिको अनुपम संगम