४६ वर्षदेखि बेसहारा बनेका माझीलाई 'सहारा'

न्युज कारोबारमा जेठ ३०, २०७७ मा प्रकाशित


भूमिराज पिठातोली

काठमाडौं । मानव सेवा आश्रममा प्रवेश गर्न गएको मंगलबार रामेछापका ६५ वर्षीय वृद्धलाई त्यति सजिलो भएन । नदी किनाराबाट मानव सेवा आश्रममा जाने भन्ने कुरा उनलाई थाहासमेत थिएन । त्यति मात्र होइन, उनले मानव सेवा आश्रमबारे सुनेका पनि रहेनछन् । जब अभियन्ता अमृत कार्कीको नजरमा परे तब उनी आश्रममा पुगे । 

कोरोनाको कहर फैलिएका बेलामा बेसहारालाई सहारा दिँदै आएका अभियन्ता कार्की आफ्नो दिनहुँ सेवामा गइरहेका बेलामा काठमाडौंको टंकेश्वरी पुलको मुनितिर भेटिए रामेछापका हिमाल माझी । ‘पुलको अर्को छेउबाट देख्दा मान्छे वा ढुंगा छुट्याउन सकिन,’ उनले भने, ‘जब नजिकै गए, त्यसपछि थाहा भयो माझीको अवस्थाबारे ।’ 

लकडाउनले गर्दा कतै जान नसक्ने अवस्था भएपछि माझीले अन्तिम विकल्प पुलमुनि नै रोजेका रहेछन् । ‘अन्तिम अवस्थामा ओत लाग्ने ठाउँ पुलमात्र देखेपछि त्यही रोज्नुभएको रहेछ,’ कार्कीले भने, ‘जति दिन बाँचिन्छ, यही ठाउँमा आश्रय लिएर बस्छु, भनेर आएको भन्ने कुरा हामीलाई सुनाउनुभयो । लकडाउन भएपछि मागेर खानलाई पनि कोही मान्छे भेटिएनन्, सबै आ-आफ्नो घरभित्र बसे । त्यसपछि कतै विकल्प नभएपछि यतै आएको उहाँले भन्नुभयो ।’

एउटा मानवले बेसाहारा हुँदा अन्तिम विकल्प पुलमुनि रोज्छ भने त्योभन्दा तल्लो अवस्था के होला भन्ने उनलाई लाग्यो । माझीलाई त्यही ठाउँमा छोडेर जानसक्ने अवस्था थिएन । उनलाई जसरी हुन्छ उद्धार गर्नुपर्छ भन्ने सोच बनाए र विभिन्न प्रक्रिया मिलाएर मानव सेवा आश्रममा पुर्याुए । हिमाल माझी ४६ वर्षदेखि काठमाडौंमा मजदुरी गरेर आफ्नो गुजारा गर्ने रहेछन् ।

सानैमा बुवा गुमाएका माझी किशोरावस्थासम्म गाउँमै बसे । सबै सम्पत्ति गाउँमा काकाहरुले आफ्नो नाममा पारेपछि बेसहारा बन्दै काठमाडौं आएका माझी ४६ वर्षदेखि भारी बोक्दै आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । एक्लो छोरो भएर पनि घरमा सहारा नपाएपछि काठमाडौंमा मजदुरी गर्न उनी बाध्य भए । पाँच वर्षअघि भारी बोक्ने क्रममा दुर्घटनामा परे । त्यसयता दुवै खुट्टा राम्ररी चल्दैनन् । वैशाखीको भरमा मागेर खानुपर्ने स्थितिमा पुगे । 

पुलमुनिको बास त उनका लागि प्यारो बनिसकेको थियो । बेसहारालाई सहारा दिनु हामी सबैको कर्तव्य सोचेर पीडितलाई सहयोग गर्दै आएको कार्की बताउँछन् । ‘माझीलाई उद्धार गर्न त्यति सहज थिएन, उनलाई कोरोनालगायत सरुवा रोग नभएको कागजात चाँहिदो रहेछ, महानगरपालिका र वडा कार्यालयले पनि सिफारिस गर्नुपर्दो रहेछ । त्यसपछि मात्र आश्रममा पठाउन सकिने जानकारी पाएपछि सबै प्रक्रिया मिलाएर व्यवस्थापन गरेका हौं,’ अभियन्ता कार्कीले भने । 

न्युज काराेबारमा प्रकाशित

अमृत कार्की : जसले ४६ वर्षदेखि बेसहारा बनेकालाई उद्धार गरे

लामो समयदेखि समाजसेवामा लागेका उनी अहिले बाल सचेतना केन्द्र बौद्धको संयोजक भएर काम गरिरहेका छन् । केही समययता उनी अलपत्र परेकाहरुको सहारा बन्दै आएका छन् । कोरोनाको कहर फैलिएपछि लकडाउनमा भोकै बस्नुपरेकाहरुलाई कार्कीको टिमले ७६ दिनदेखि विभिन्न ठाउँहरुमा खाना खुवाइरहेको छ । त्यति मात्र होइन, कतिपयको गाडीभाडा र कोठाभाडाको समस्या पनि उनले सुल्झाइदिएका छन् । 

दृष्टिविहीन दम्पतीलाई सहयोग

पुरानो ठिमी भक्तपुरमा बस्दै आएका बाजुरा छेडेदह गाउँपालिका गुदुखातीका मिजार दम्पतीलाई लकडाउनले निकै निकै ठूलो प्रभाव पार्योा । खान, लगाउन मात्रै होइन, अन्य समस्याले पनि उनीहरु प्रताडित बने । मिजार दम्पती नै दृष्टिविहीन भएकाले उनीहरुलाई लकडाउनबाट थप पीडित बने । धुप बनाएर बेच्ने पेसा पनि बन्द भएपछि आर्थिक चपेटामा परे । 

घरभाडाका लागि दिनप्रतिदिन घरबेटीले मानसिक तनाव दिन थाल्यो । आफन्त चिनजानको सहारामा उनी अभियन्ता कार्कीसँगको सम्पर्कमा पुगे । कार्कीलाई फोन गरेरे समस्या राखे । कार्कीले मिजार दम्पतीको समस्या सुनेपछि उनी बस्ने ठेगाना खोज्दै घरमा पुगे । घरमा जाँदा दम्पतीको समस्या मात्रै होइन, उनको तीन महिने शिशुलाई समेत सञ्चो रहेनछ ।

मुन्द्रे कमेडी क्लबको टिमले मिजारलगायत अफ्ठ्यारोमा परेकाहरुलाई खाना खुवाउने गरेको रहेछ । आपतविपतमा खाना खुवाए पनि जनक मिजारकी श्रीमतीले पोषिलो खानेकुरा खान नपाउँदा तीन महिने शिशुलाई दूध खुवाउन मुस्किल परेको रहेछ । त्यो समस्या सुनेपछि अभियन्ता कार्कीले पोषिलो खानेकुरा किनेर खुवाउनु भन्दै तीन हजार रुपैयाँ दिए ।

भाडाका लागि दिनहुँ घरबेटीले तनाव दिएको थाहा पाएपछि कार्कीले घरबेटीलाई बोलाएरै भने, ‘केही ढिला भए पन मिजार दम्पतीलाई कुनै तनाव नदिनुस्, तपाईंको घरभाडा म दिन्छु ।’


Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

नेपालीहरुमा ‘समयप्रतिको कुसंस्कार’