साढे ३ दशकको समर्पण


सफल आवाज डटकममा माघ २६ गते २०७८ मा प्रकाशित

भूमिराज पिठाताेली

काठमाडौं । २०६४ सालको वैशाख महिना । ८ कक्षामा भर्ना हुन कालुखेती गएँ । घरबाट नजिक पाटादेवल पर्ने हुँदा कालुखेती पढ्ने जाँगर नै चलेको थिएन । अघिल्लै दिनदेखि सामान्य ज्वरोसमेत आइरहेकोले बज्यैं (हजुरआमा) ले गंगमार सरलाई नाडी हेरिमाग्नु, भर्ना पनि हुनु भन्नुभएको थियो ।

बज्यैले जहिल्यै उहाँको नाम ‘गंगमार’ भन्नुहुन्थ्यो । घरमा कसैलाई सानो तिनो बिराम पर्दा उहाँकै नाम आउँथ्यो । ‘गंगमार सरलाई नाडी हेरिमाग्न पाए हुन्थ्यो,’ बज्यैले भनिरहनुहुन्थ्यो । मामा र दिदी भने उहाँको नाम ‘गंगमार’ होइन ‘गंगवार’ हो भन्दै झर्किन्थे । उहाँको असली नाम भने हामीले पढिसकुन्जेलसम्म पनि धेरै कमलाई मात्र थाहा थियो । सबैले ‘गंगवार सर’ भन्दै चिन्थे । मेरो बज्यै जस्तै गंगवार सरका हजारौं शुभचिन्तक थिए ।

०६४ मा भर्ना हुन जाँदा उनी भेटिएनन् । अघिल्लो वर्षको वार्षिक परीक्षा सकेर बिदामा घर गएका रहेछन् । नाडी देखाउँन नपाउँदै मलाई सञ्चो भइसक्यो । बाटोमा ९ कक्षामा भर्ना हुन सँगै गएका साथीहरुले भन्थे, ‘गंगवार सरले त सुरुमा पढाउने, लेखाउने त्यसपछि नजाने भयंकर कुट्नुहुन्छ ।’ उनीहरुका कुरा सुनेपछि घरमा त कालुखेती नपढ्ने अडान लिएँ । पछि बिस्तारै कालुखेती सामान्य लाग्दै गयो । गंगवार सरसँग घुलमिल हुँदै गएँ ।

छान्नाको लागि गंगवार सर शिक्षकभन्दा बढी डाक्टर भनेर चिनिन्थे । अधिकांश परिवारका अधिकांश सदस्यले एक न एक पटक उहाँको उपचारपद्धति प्रयोग गरेकै छन् । उहाँको सेवाभन्दा बाहिर परेका मान्छे सायदै कम होलान् ।

O O O O O

अघिल्लै दिनदेखि नियमित बिरामीहरु बेसहारा जस्तै टुलपुलाई रहेका थिए । ‘गंगवार सर रिटायर्ड हुनुभयो’ भन्ने गाउँ गाउँमा खबर पुगिसकेको थियो । खबरपछि दिनहुँ स्थानीयहरु भेट्न आइरहे । कोही प्रत्यक्ष भेट्न पुगे त कसैले बिदाईका रैबार पठाए ।पछिल्लो साता विद्यालय जानु नपर्ने भएपछि उनको डेरामा बिरामीहरुको घुँइचो नै लाग्न थाल्यो । बिरामीको आउने जाने क्रम पनि चलिरह्यो । भेट्न आउनेहरु बिदाईका आसुँ चुहाइरहे ।

छान्नाबासीले ‘भगवान’को ताज भिराएका गंगवार सरको खप्तड माविले मंगलबार बिदाई कार्यक्रम राख्यो । कार्यक्रममा विद्यार्थीभन्दा धेरै अभिभावकहरुका अनुहार देखिए । विद्यालयको प्राङ्गणभरि स्थानीय । त्यहाँ कुनै केन्द्रीय विशिष्ट मन्त्रीको आगमनभन्दा कम थिएन माहोल । स्वैच्छिक रुपमा छान्नाबासीले स्वागत गरेको मालाले नै ३/४ टेबल भरिएका थिए । कसैले सम्झने उपहार दिए त कसैले टिकाटालो गर्दै सामान्य आशिर्वाद लिए ।

गंगवार सरलाई यस्तो दिन आउनेछ भन्ने थाहा थियो । सेवानिवृत भएको एक सातासम्म पनि उनलाई निन्द्राले छोएको थिएन । विद्यार्थी र बिरामीको अनुहार आँखाको पर्दामै थियो । राति सुत्न खोज्दा पनि तिनै अनुहारहरु दौडिरहन्थे । मध्यराति कति बेला निन्द्रा लाग्छ, थाहा हुँदैनथ्यो । भोलिपल्ट फेरि बिरामी र विद्यार्थीसँगै भएपछि सम्हालिन सहज हुन्थ्यो ।

यो कथा खप्तड मावि कालुखेती बझाङका शिक्षक नरेशकुमार गंगवारको हो । करिब साढे ३ दशकको कठोर शैक्षिक संघर्षपछि गत हप्ता सेवा निवृत्त भएका गंगवार त्यसदिन यता आफैंलाई सम्हाल्न सकेका छैनन् । उनी मात्रै होइनन्, सिंगो छान्नाबासी नै छुट्टिनुपर्ने भएपछि दुःखी भएको छ । बिदाईको कथा लेख्ने यो पंतीकारका पनि औंला कापिरहेका छन् ।

जीवन के घोर अँधेरी मे प्रकाश जो बनकर आता है,

हर लेता है वो दुःख सारे खुशियों की फसल उगाता है ।

न कोही लालच कर्ता है,

सच्चाईका सबक सिखता है ।

सागर से ज्ञान के भरा हुआ बस् वही गुरु कहलता है …

यो कविर नाम गरेका स्रष्टाले हिन्दीमा लेखेको कविताको अंश हो । कविता सायद गंगवार सरजस्ता निष्ठावान् गुरुको सम्मानका लागि लेखेको हुनुपर्छ । भारतको उत्तर प्रदेशको पेलिभितमा जन्मेर २६ वर्षको उमेरमै हजारौं माइल टाढा दुर्गममा प्रकाश छर्न २०४४ सालमा आएका थिए । बाल्यकाल र जीवनको उत्तरार्द्ध समयमात्रै जन्मथलोमा र बाँकी सम्पूर्ण जीवन परदेशमा बिताउने उनी छान्नाबासीका लागि महान् गुरु, महान् डाक्टर, महान् कृषि विज्ञ नै हुन् ।

O O O O O

साविकको कालुखेती गाविस-९ का भीमबहादुर कार्की विज्ञान विषय पढाउने शिक्षक खोज्दै भारतको आन्द्रा प्रदेश पुगे । आन्द्रा प्रदेशमा आफन्तको सहयोगमा उनी नरेशकुमार गंगवारसँग ठोक्किए । शिक्षा दिने मान्छे खोज्न भारत पुगेका कार्कीको प्रस्ताव गंगवारले सहजै स्वीकारे । उनलाई शिक्षा माग्न हजारौं माइल टाढा आएको मान्छेलाई कसरी फर्काउने ? जसरी पनि जानुपर्छ भन्ने लाग्यो । परिवारले पनि उनलाई नेपाल जान सहमति दियो । कार्कीसँगै बझाङको कालुखेती पुगे ।

सुदूरपश्चिमको विकट जिल्ला बझाङको पनि विकट क्षेत्र छान्ना । तर, छान्नाबासीको माया ममताले गंगवार सरलाई विकट लाग्ने मौका नै दिएन । डोटी तथा डडेल्धुराबाट ३ दिनसम्म पैदल यात्रा गरेर पुग्नुपर्ने ठाउँमा पनि उनी सहजै खुसी भएर हिडिरहन्थे । कहिल्यै हिउँदे त कहिल्यै वर्षे विदामा बाहेक उनी घर फर्कदैनथे । सुरु सुरुमा त २/३ वर्षपछि मात्रै बिदा पारेर आफ्नो घर जान्थे । बाँकी समय छान्नामै बिताएका उनलाई जम्नघरभन्दा प्यारो छान्ना हुँदै गयो । परिवारभन्दा प्यारा विद्यार्थी तथा बिरामीहरु हुँदै गए ।

सफल आवाजमा प्रकाशित लिंक साढे ३ दशकको समर्पण

कालुखेतीमा सुरुमा उनलाई भाषागत कठिनाइ भयो । बिस्तारै भिज्दै जाँदा भाषा पनि सहज भयो । तत्कालिन समयमा छान्नामा उपचार नपाएर अकालमै ज्यान गुमाउनेहरु असंख्य मात्रामा थिए । झाडापखाला लाग्दा पानी पिउनुपर्छ भन्ने पनि जानकारी थिएन । छिमेकीहरुको स्वास्थ्यमा समस्या आएपछि गंगवार सरका सुझाबहरु अचुक बने । पछि गंगवार सर स्वास्थ्य विज्ञसमेत भएको छान्नाबासीले चाल पाए । त्यसपछि धामी झाँक्रीमा उपचारका लागि जानेहरु पनि उनको ढोकामा लाइन लाग्न थाले । डाह गर्नेहरु पनि स्वास्थ्य बिग्रँदा उनको सल्लाहबमोजिम नै तन्दुरुस्त हुन थाले । हुँदा हुँदा उनी पचासौं हजार जनाका लागि ‘भगवान’ जस्तै प्यारा बने ।

तीन पुस्तालाई शिक्षण

अर्को मुलुकमा गएर जीवनको उर्जाशील समय एउटा विद्यालयलाई समर्पण गर्नु सामान्य कुरा होइन । भद्र व्यवहार, विद्यार्थीहरुसँगको नम्रता, सिकाउने कलाकै कारण छान्नाबासीले उनको पहिचान नै ‘गंगवार सर’ बनाइदिए ।

संयोग पनि कस्तो । खप्तड माविका वर्तमान प्रधानाध्यापक धन गिरीले नै गंगवार सरको स्वागत तथा विदाई गरे । गंगवार खप्तड माविमा पुग्दा १० कक्षामा अध्ययनरत गिरीकै ब्याजीले २०४४ सालमा स्वागत गरेका थिए । त्यसै विद्यालयमा गिरीले शिक्षण पेशा सम्हालेको २७ वर्षपछि आफ्नै हातले गंगवार सरको विदाई गर्ने अवसर पाएकोमा प्रअ गिरी आफूलाई भाग्यमानी ठान्छन् ।

खप्तड माविमा गिरीले नै २ पुस्तालाई अध्यापन गराइसकेका छन् भने गंगवारले गिरीलाई मात्रै होइन, उनीजस्तै सयौं शिक्षक उत्पादन गरिसकेका छन् । उनका विद्यार्थी स-साना जागिरेदेखि मुलुकको उच्च ओहदासम्म पुगिसकेका छन् । तिरन्तर ३ पुस्तालाई शिक्षाको ज्योति प्रदान गरेका गंगवार सरको बिदाईले छान्नाबासी नै दुःखी बन्यो । उनको बिदाईमा सयौं विद्यार्थी तथा अभिभावकले आँसु लुकाउन सकेनन् ।

हजारौंलाई पुनर्जीवन

गंगवार सर छान्नामा शिक्षक मात्रै होइनन् । उनले चिकित्सकीय सेवा सुरु गरेको पनि ३ दशकभन्दा बढी भइसकेको छ । झण्डै ३१ वर्ष उनले बिरामीहरुको कतै निःशुल्क त कतै एकदमै न्यून शुल्कमा उपचार गरे । ३४ वर्षको अवधीमा करिब ५० हजार बिरामीको उपचार गरे ।

बिरामीलाई धामी झाँक्रीको सहारा लिने समुदायमा सयौं झाँक्रीहरुको समेत उपचार गरे । बिहान उठ्ने बेलादेखि साँझ सुत्ने बेलासम्म उनी सेवामै झुण्डिए । शैक्षिक सेवाबाट अवकाश भए पनि चिकित्सकीय सेवाबाट भने अवकाश लिन पाएका छैनन् ।

अहिले पनि उनको कोठामा दर्जनौं बिरामीको लाइन नभएको कुनै दिन हुँदैन । पहिले विद्यालयमा हुने बेला पनि समय कुर्दै बिरामीहरु गंगवार सरको बाटो कुरिरहन्थे भने अहिले सिधै उपचार तथा सल्लाह लिएर फर्किन्छन् ।

बिरामीको निरन्तर निःशुल्क चेकजाँच गर्ने हुँदा छान्नाबासीकै सल्लाहअनुसार उनले केही समय मेडिकल पनि सुरु गरेका थिए । त्यसमा प्रर्याप्त समय दिन नसक्ने भएपछि मेडिकल नै बन्द गरे । आएका बिरामीको चेकजाँच गर्ने र कागजको खोस्टोमा औषधी लेखेर किनेर खान सुझाव दिने उनको साँझ बिहानको ड्युटी जस्तै भयो । यसरी दिएको चिकित्सकीय सेवा लोभलाग्दो नहुँने कुरै भएन । पछिल्लो समय गाउँ गाउँमा स्वास्थ्य चौकी तथा मेडिकलहरु भए पनि बिरामीहरुले भने गंगवार सरको सल्लाह छुटाउन सकेनन् । चेकजाँच र मात्राअनुसारको औषधी लेखेर दिने भएपछि छिमेकी जिल्ला बाजुराका बिरामीहरुले पनि उनलाई पन्छ्याइरहे ।

उनको सम्झनामा अहिलेसम्म ५० हजारभन्दा बढी बिरामीको सेवा गरिसकेका छन् तर, बिरामीबाट भने उनले माया मात्रै लिए । ‘मेरो जिन्दगीको सबैभन्दा कठिन समय आएको छ । म यो छान्नालाई कसरी छोडेर जाऊँ ?’ भन्दै आँसु लुकाउन खोज्छन् र भन्छन्, ‘मेरो भौतिक शरीर टाढा भए पनि छान्नाबासीको स्नेहले मलाई जहिल्यै डोर्‍याइरहने छ ।’ गंगवार सरको आगामी दिनहरू सुखमय अनि अझै सिर्जनशील बनोस्, धेरै धेरै शुभकामना ।

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

नेपालीहरुमा ‘समयप्रतिको कुसंस्कार’