कांग्रेसका शीर्ष नेताको अनैतिक चरित्र



भूमिराज पिठातोली

मंसिर २८, २०७७ मा प्रकाशित न्युज कारोबारमा  |

| काठमाडौं | प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले ६४ सिट जित्दै तृतीय स्थानमा चित्त बुझायो । तत्कालीन नेकपा एमाले पहिलो र नेकपा माओवादी केन्द्रले निर्वाचनमा दोस्रो स्थान हासिल गरेको थियो । पहिलो र दोस्रो ठूलो दल एमाले तथा माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपा भयो र तत्कालीन संघीय समाजवादी फोरमलाई समेत समावेश गरेर नेकपाले दुई तिहाइ बहुमत कायम हुने गरी सरकार गठन गर्‍यो ।

नेपाली कांग्रेस भने निर्वाचनमा निकै ठूलो हार व्यहोरेपछि सरकारलाई खबरदारी गर्ने भन्दै प्रमुख प्रतिपक्षीको रूपमा रहने निर्णय गर्‍यो । संसदअगावै केन्द्रीय समितिमा कांग्रेसले निर्वाचन समीक्षा पनि गरेको थियो । अबको पाँच वर्षमा आफ्नो जिम्मेवारी कस्तो रहने भन्दै कांग्रेसका ७ जना नेता (गगन थापा, प्रदीप पौडेल, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, जीवन परियार र रामचन्द्र यादव)ले ५१ पृष्ठ लामो प्रतिवेदन २०७५ वैशाख ११ गते लोकतन्त्र दिवसको दिन केन्द्रीय समितिमा प्रस्तुत गरे । प्रस्तुत गरिएको प्रतिवेदन नै कांग्रेसको पाँच वर्षे गुरुयोजना बनाउने समितिले निष्कर्ष निकाल्यो ।

तीनै तहको निर्वाचन भएको तीन वर्ष नाघिसकेको छ । यो तीन वर्षको अवधिमा सरकारले पटक-पटक बाटो बिराइरहँदा पनि प्रतिपक्षले खबरदारी भने गर्न सकेन । नागरिक समाज नै सरकारका काम कारबाहीविरुद्ध सडकमा ओर्लंदा पनि प्रतिपक्षमा रहेको दोस्रो ठूलो दल नेपाली कांग्रेस भने कुम्भकर्ण जस्तै देखियो । प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने कांग्रेस आफैं गुमगाम बन्यो वा भन्यो चीरनिद्रामा सुत्यो ।

देशमा अतिवादी सोच भएका समूहहरू र त्यस्तै अधिनायकवादी चरित्र बोकेको सरकारलाई नेपाली माटोमा हुर्कन दिनु हुँदैन भन्ने कांग्रेस व्यवस्थाकै विरूद्धमा हजारौंको प्रदर्शन हुँदा पनि अनभिज्ञ जस्तै बनेको छ । सत्ताको बचाउमा लागेर काण्डै-काण्ड दोहोर्‍याइरहेको सरकारका कर्तुत लागेको लामो समय सत्ताको तीव्र उज्यालोमा बसेर एकै पटक अँध्यारोमा धकेलिँदाको मानिसले जस्तो अँधेरीमा रनभुल्ल कांग्रेसका शीर्षले देखेको नदेखै, सुनेको नसुन्यै गरे, अहिले प्रतिपक्षी दल आवाजविहीन नै छ ।

देशमा अतिवादी सोच भएका समूहहरू र त्यस्तै अधिनायकवादी चरित्र बोकेको सरकारलाई नेपाली माटोमा हुर्कन दिनु हुँदैन भन्ने कांग्रेस व्यवस्थाकै विरूद्धमा हजारौंको प्रदर्शन हुँदा पनि अनभिज्ञ जस्तै बनेको छ ।

दुई तिहाइ बहुमतको सरकार गठन हुने बेलामा कांग्रेसले जिम्मेवार प्रतिपक्षको रुपमा भूमिका निर्वाह गर्ने दाबी गरेको थियो । त्यसबेलामा उसले चर्को आवाजमा भनेको थियो, ‘नेकपाको सरकारले चुनावी मैदानमा बोलेका कुराको नतिजा दिनैपर्छ, नतिजा दिनुपर्ने बेलामा सरकार जिम्मेवारीबाट भाग्न खोज्यो बहाना बनाउन खोज्यो, पन्छिन खोज्यो भने कांग्रेस चुप लागेर बस्ने छैन । जिम्मेवारीबाट भाग्न दिने छैन । सरकारलाई निरन्तर ‘अन ट्रयाक’ राखी राख्नेछ । सरकारका बाचा सम्झाइरहनेछ । आम जनताको सरोकारको विषयलाई संसदमार्फत् सरकारलाई सुन्न र गर्न बाध्य बनाउने र जनताप्रति जवाफदेही बनाउनका लागि कांग्रेस प्रतिपक्षमा बस्छ ।’

कांग्रेसको नजरमा कांग्रेसले उठाएको विचार र राजनीतिक सोचले राष्ट्रिय राजनीतिमा गहिरो प्रभाव स्थापित गरिरहँदा पनि पार्टीले हार व्यहोर्नुपर्‍यो । ‘जनताले फरक दललाई मत दिएकोमा पछुताउँदै निर्विकल्प रुपमा कांग्रेसलाई नै रोज्ने वातावरण निर्माण गर्ने’ बुँदा कांग्रेसको प्राथमिकतामा पर्‍यो । तर, अहिलेको परिणाम हेर्दा जालझेल गर्दै कार्यकर्तासमक्ष कांग्रेसको उपस्थिति देखिए पनि आमजनताले भने प्रतिपक्ष भएको महसुस गर्न पनि पाएका छैनन् ।

मौका मिल्दा सत्तापक्षका चुनावी नारा सम्झाउने कांग्रेसले आफ्ना नाराहरू भने कहिल्यै सम्झिने कष्ट गरेन । जनताले प्रतिपक्षको भूमिकामा बस्नका लागि दिएको मतले सधैँ कांग्रेसलाई गिज्याइरह्यो । सरकारले कुर्सी जोगाउनका लागि पार्टी नै फुटाउन सक्ने विधेयक ल्याउदा पनि कांग्रेसले शब्द फुटाउन सकेन । गत वर्षदेखि कोरोना भाइरसको महामारी फैलिए यता त झनै गहिरो निद्रामा पर्‍यो । कोरोना महामारी र लकडाउनका मध्यबीचमै सरकारले षड्यन्त्रपूर्वक तरिकाले अतिअशक्त अपांगता भएका व्यक्ति र एकल महिलाको सामाजिक सुरक्षा भत्ता काटिदिँदा प्रतिपक्षी दलले थाह पाएको नपाएझै गरिरह्यो ।

समाचारका सिलसिलामा मैले ५‑६ पटक नेपाली कांग्रेसका जिम्मेवार नेताहरूको ‘प्रतिक्रिया’ लिने अवसर पाएको थिएँ । त्यहाँ कतिपय नेताहरूले सरकारलाई खबरदारी गर्नुपर्ने विषयलाई गौण विषयकै रुपमा लिएका थिए । ‘अहिले कोरोना माहामारीको बेलामा विरोध गर्न सडकमा जानुपर्ने अवस्था सुहाउँदैन । त्यसैले सामाजिक सञ्जालतिर सरकारको विरोध गरेका छौं,’ डा. डिला संग्रौलाले भनेकी थिइन् । जबकि, त्यतिबेलै कांग्रेसका नेता‑कार्यकर्ताहरूले महाधिवेशनको चटारोमा गाउँ‑गाउँमा हजारौंको संख्यामा मानिस भेला गराउँदै पार्टी प्रवेश तथा सदस्यता वितरण गरेका थिए ।

अहिले त सरकारले विभिन्न क्षेत्रमा एकलौटी निर्णय गर्दा पनि नेपालमा प्रतिपक्षी नभएको जनताले महसुस गरिरहेका छन् । बालुवाटारको जग्गा अतिक्रमणको आरोपीलाई सरकार प्रमुखबाटै शुद्ध पार्नेदेखि महामारीमा पनि ओम्नी समूहलाई मेडिकल सामग्री खरिद गर्न दिएको ठेक्कासम्म व्यक्तिलाई उन्मुक्ति दिँदा पनि कांग्रेस मौन बस्यो ।

सरकारी जग्गा यती समूहलाई, वाइडबडी जहाज प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, सांसद अपहरण प्रकरण, प्रधानमन्त्री सचिवालयबाटै ‘काठमाडौं प्रेस’ मिडिया ह्याक प्रकरण, खुलामञ्चमा निमुखालाई खाना वितरणमा रोक लगाउने प्रकरण, कुलमान प्रकरण, नयाँ नक्सासहितको पुस्तक प्रकरण, रअ प्रमुख प्रकरण, चुनाव हारेका नेतालाई सांसद, सम्धी प्रकरण, संविधानमा उल्लेखित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सट्टा नेपालमात्रै लेख्ने निर्णयलगायतका गैरकानुनी काम गर्दा पनि प्रमुख प्रतिपक्ष मुकदर्शक बनिरह्यो ।

सरकारलाई निगरानीमा राख्ने र सरकारलाई जवाफदेही बनाउने भन्दै कांग्रेसले गठन गरेको छाया सरकारको त झनै अत्तोपत्तो छैन ।

पहिलो ठूलो दललाई जनताले तेस्रो स्थानमा फालेपछि कांग्रेसले संविधान कार्यान्वयनमा अग्रसरता लिने, संघीयताको कार्यान्वयन र सवलिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, संविधान असन्तुष्ट पक्षहरूको माग सम्बोधन गर्ने, छिमेकी राष्ट्रसँगको सम्बन्ध र राष्ट्रिय पहिचान कायम राख्ने, राष्ट्रिय र जनसरोकारका मुद्दाहरूमा देशको सबैभन्दा जिम्मेवार पार्टीको रुपमा दायित्व निर्वाह गर्नेलगायतका महत्वपूर्ण बुँदाहरू समेटेर कांग्रेसले पाँच वर्षमा सफल प्रतिपक्षको भूमिका पूरा गर्ने दाबी गरेको थियो । तर, तीन वर्षको अवधिमा कांग्रेसले आफैंले गरेका प्रतिबद्धता बिर्सन पुग्यो । यी तीन वर्षमा नयाँ छवि बनाउने कुरा कांग्रेसले गुमाइसकेको छ । बितेका तीन वर्षमा पनि कांग्रेस अधिकांश संवैधानिक निकायमा सुशासनको सवालमा सम्झौता गर्दै भाग नै खोजिरहेको थियो ।

सरकारलाई निगरानीमा राख्ने र सरकारलाई जवाफदेही बनाउने भन्दै कांग्रेसले गठन गरेको छाया सरकारको त झनै अत्तोपत्तो छैन । कतिपय छाया सरकारका मन्त्रीहरूलाई त सरकारका मन्त्रालयका गतिविधिहरुबारे पनि जानकारी छैन । मन्त्रालयका काम कर्तव्यबारे नै अनभिज्ञ छन् छाया सरकारका मन्त्रीहरु । जनताको आवाज सुन्ने त कुरै भएन ।

जब गएको मंसिर १७ गते तनहुँमा पुल उद्धाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेर तीन घण्टा नियन्त्रणमा लियो, त्यसपछि भने कांग्रेसले ठूलै चिज गुमाएको चाल पाएजस्तै गरेर आङ तान्दै ओछ्यानबाट उठेको छ । तीन वर्षसम्म निद्रामा परेको कांग्रेस मुख्य नेता पक्राउपछि ब्युँझियो र  अहिले सरकारले गैरकानुनी रुपमा मच्चाएका काण्डैकाण्डको विरोध गर्ने भन्दै प्रदर्शनका लागि आह्वान गरेको छ ।

पौडेलको बचाउमा मात्रै विरोध गर्नुभन्दा जनतालाई प्रतिपक्षी ब्युँझेको भान पार्न समसामयिक विषय समेटेर देशभर प्रदर्शन गर्न आह्वान गरेको प्रस्टै बुझ्न सकिन्छ । केही दिन अघिसम्म त सरकारसँग कुम जोड्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको बालुवाटारमा पटक-पटक कालोचिया खाना धाएको कसैले बिर्सेका छैनन । प्रस्टै छ, कांग्रेसलाई विभिन्न संवैधानिक पदमा भागबन्डा चाहिएको थियो । सरकारलाई जनमुखी बनाउनुपर्नेमा भागबन्डा खोजिरहेको कांग्रेसले सरकारको विरोध गर्ने त कुरै थिएन ।

कांग्रेस नेता पौडेललाई प्रहरीले नियन्त्रणमा नलिएको भए कांग्रेसले अझै सुतेकै हुन्थ्यो । कुनै विषयमा असहमति जनाइहालेमा पनि सामाजिक सञ्जालमा बाहेक अन्त हुने थिएन । जनताको आवाज बोल्नका लागि त केही शीर्ष नेताहरु नै पक्राउमा पर्नुपर्ने रहेछ भन्ने जनताले बुझ्न थालेका छन् । तीन वर्षसम्म सुतेको कांग्रेसले पौडेल पक्राउपछि मात्रै सरकारको विरोधका कार्यक्रम सुरु गर्न थालेको छ । यसले जनताको आवाज बोल्नका लागि शीर्ष नेताहरु नै पक्राउ पर्नुपर्ने रहेछ भन्ने देखाउँछ ।

शनिबारबाट भने भोलि मंसिर २९ का लागि भन्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भिडियो सन्देशमा आन्दोलनमा सहभागी हुन आह्वान गरिरहेका छन् । तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकटलगायत घटनामा सरकार उदासीन बनेको भन्दै देशभर प्रदर्शन गर्ने कांग्रेस नेताहरु बताइरहेका छन् ।

तीन वर्षपछि खुल्यो कांग्रेसको निन्द्रा

मंसिर २९ गते कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गर्न लागेको भन्दै प्रदर्शनमा सहभागिता जनाउन आम सर्वसाधारणलाई पार्टी सभापति शेरबहादुर देउवाले समेत अपिल गरेका छन् । पटक-पटक बालुवाटार, खुमलटारसँग कुम जोडेका देउवाले अपिल पत्रमा भनेका छन्, ‘प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको थियो । तर, सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो ।’

सभापति देउवाको भनाइप्रति जनता भने विश्वास गर्ने अवस्थामा छैनन् । कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गरेको भए किन जनतामा कांग्रेसप्रति वितृष्णा जाग्थ्यो ? उनले अपिल पत्रमै भनेका छन्, ‘भोलिको सांकेतिक प्रदर्शन सुरूवात हो ।’ उनको भनाइबाटै स्पष्ट हुन्छ कि कांग्रेस तीन वर्षसम्मै एकान्तबासमै थियो अब भोलिबाट हाइबरनेसनबाट निस्केको भालुजस्तो आङ तान्दै सार्वजनिक हुँदैछ, जसरी लामो समयसम्म गुफामा सुतेको भालु बाहिर निस्कँदा बोसोले थल्थल भएको हुन्छ र बोसो घटाउन उफ्रन्छ, कांग्रेसको आन्दोलन त्योभन्दा बेसी होइन ।

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

‘हामी कसरी गाउँ जाने प्रधानमन्त्री ज्यू ?’

नेपालीहरुमा ‘समयप्रतिको कुसंस्कार’