चार दिवारभित्रका आधा महिना
![]() |
भूमिराज पिठातोली
घाम नदेखेको १० दिन बितिसकेको थियो । एकातिर डर पनि उस्तै, अर्कोतिर आशासहितको निराशा । निन्द्रा खुलेको पनि दुई घण्टा बितिसकेको थियो । ओछ्यानमै वल्टोकोल्टो पल्टिरहेको थिए । घरपरिवारको याद आयो । घर नगएको पनि २ वर्ष बितिसकेछ । भाइले म्यासेन्जरमा पठाएका फोटाहरु हेरेँ ।
फुक्क परेका आमाका गालामा कालाकाला धब्बा बसिसकेका रहेछन् । अनुहारभरि बुढ्यौलीका धर्कैधर्का । पातलिदै गएको कपाल, मैलो चोलो पनि शरीरमा टाँगेजस्तै । मुस्कुराउन खोज्नुभएको रहेछ । उठेको एक दाँतमात्रै अलिअलि बाहिर देखिएको । गत वर्ष यसै महिना हामीले घरको घरमुली (हजुरबुवा) गुमाएका थियौं । उहाँकै आसिक बारेर हजुरआमा, बुवा र कान्छाबुवाले सेतै कपडामा हुनुहुन्थ्यो । पहिले हजुरआमाको बुढ्यौली लागेको त्यो पहिरनमा अनुहारका नसा सुक्दै गए पनि चम्किलै देखिन्थे । अहिले भने फोटोमा नाक, कान सबै रित्तै सेताम्य अवस्थामा देखिनुभएको थियो । बुवा र कान्छाबुवा पनि निकै फरक । यो फोटोमै यो अवस्था देख्दा भरिएको गाग्रीबाट पानीझैं आँसु छल्कियो ।
आफूलाई कोभिड संक्रमण भएको कसैलाई पनि जानकारी गराएको थिइन । घरपरिवारमा चिन्ता हुन्छ भनेर आफैं खुसी भएको बाहाना गर्दै फोनमा गफिन्थे । कहिलेकाँही त घरबाट फोन आउने बेलामा खोकी लागिरहन्थ्यो । खोकी लागेको सुनेर चिन्ता मान्छन् भनेर कपडामा मुख राखेर कुरा गर्थे । अलिकति खोकी लागे पनि आमालाई त झनै चिन्ताले सताउँछ । अघिल्लै हप्ता सामान्य खोकी लाग्दा पनि एक सातासम्म घरपरिवारमा उसलाई सञ्चो छैन रे भनिरहनुहुन्थ्यो रे । मलाई घरपरिवार, साथीभाइ, आफन्त, सँगै काम गर्ने सहकर्मी सम्झेर निकै असहज हुन्थ्यो ।
काठमाडौंमा कोठामा अहिलेसम्म एक्लै बसेको सम्झना छैन । सँगै बस्ने भाइहरु अर्को भाइको कोठामा गए । केही काम परेमा सामान ल्याएर ढोकामा राख्ने र उनीहरु गएपछि ढोकाको खोलेर सामान भित्र ल्याउने गर्दथे । भाइहरुलाई पनि प्रत्यक्ष हेर्न नपाएको दुई साता बित्दै थियो । बन्दी गृहमा बसेको जस्तै झ्यालको दलिनमा मुन्टो घोप्ट्याउँदै कुरा गर्थे । केही कुरा सुन्ने वित्तिकै पनि बाहिर हिड्नेहरुले मलाई नियालेर हेर्थे । उनीहरुले मलाई हेरेर आ–आफैं कुरा गर्दा पनि मेरै कुरा काटेझै लाग्थ्यो । आएका साथीभाइहरुलाई सम्मानका साथ खाजा खुवाएर भए पनि पठाउने मेरो बानी दुई हप्तासम्म भेट्न आउने साथी भाईलाई झ्यालबाटै संकेत गरेर फिर्ता गर्नुपथ्र्यो । उहाँहरुलाई बस्नुस् भन्न सक्ने अवस्था थिएन । मलाई बिराम भएको थाहा पाएकाहरु भेट्न आउँदा घाँटी तन्काएर हेरेर जान्थे । उनीहरु गएपछि पनि झ्यालमै टोलाएर हेरिरहन्थे ।
टाढाबाट हेर्नेहरु नजिक नआउने, नजिक आउनेहरु कोठाभित्रै नछिर्ने, फोन गर्नेहरु सान्त्वना मात्रै दिने । यो सबै सम्झँदा तराईंमा औंलो रोगको सिकार हुनेहरुको कथा याद आउँथ्यो । कसैको फोन आउँदा सञ्चै छु भन्नुको विकल्प हुदैनथ्यो ।
ÒÒÒÒÒ
जाडो महिना । जन्मदिन मनाएको केही दिनमै दुई साता शारीरिक रुपमा मात्र नभई मानसिक रुपले पनि सिथिल बनायो । एकातिर कोरोना जित्नु ठूलो चुनौती भने अर्कातिर मानवजगतबाटै तिरस्कृत भएजस्तै अलग दुनियाँमा रमाउनुपर्ने मानसिक अस्थिरता । कार्यालयको साप्ताहिक बिदा मंगलबारकै दिन बिहानको दौडाइ र चिस्यानमा गरिएको एकाग्रता (ध्यान)को असर । बिहान पौने ५ बजे कोठाबाट निस्केको सात बजे नै बिरामी । नयाँ बानेश्वर–तीनकुने–माइतीघरमा पुगेपछि व्यायाम गरेको थिएँ । डा. विकाशानन्दको ध्यान विधिअनुसार नाकमै स्वास गन्दै ७ बजिसकेको थियो । उठ्ने बेलामा त हात, खुट्टा नाक, मुख नै चिसिएर बरफजस्तै चिसिएका थिए । त्यही चिसो नै बन्यो कोरोनाको जिवाणु ।
कोठामा पुग्दा शरीरको तापक्रम ह्वात्तै बढेको । थर्मोमिटरले जाँच्दा १०३ डिग्री सेन्टिग्रेट पुगिसकेछ । मनमा चिसो पस्यो । तुरुन्तै चिकित्सकको सल्लाह लिए र ५०० एमजीका दुई चक्की प्यारासिटामोल सुरु गरेँ । दोस्रो दिन वडा कार्यालयको समन्वयमा अस्पतालमा स्वाब दिँदा भोलिपल्ट रिपोर्ट पोजेटिभ आयो । वडाले चेकजाँच गरेकै दिन सर्जिकल मास्क, स्यानिटाइजर, पियूष, इकोक्लिन, थर्मोमिटर, दैनिक ज्वरो फाराम भएको युनिसेफवाला पेटी हातमा थमाइसकेको थियो । शरीरमा अक्सिजनको मात्रा पनि घटबढ भइरहेको थियो । चिकित्सकको सल्लाहअनुसार अक्सोमिटरको सहायताले शरीरमा अक्सिजन नियन्त्रण गरिरहेको थिएँ । तन्दुरुस्त भएको महसुस हुने तर, शरीर शिथिल हुँदै गइरहेको थियो ।
रिपोर्ट आएको तेस्रो दिन साँझदेखि भोक नलाग्ने र खानामा स्वाद नहुने जस्ता समस्या देखिन थाले । भोक लाग्दै नलाग्ने र जति मिठो खानेकुरा भए पनि रुखका बोक्रा चपाएजस्तै हुन्थ्यो । म हतारहतार चपाएर पानीसँग निलिदिन्थेँ । खानामा नुन नलागेपछि एक दुई दिन त प्रत्येक गासमै नुनको सहायता लिनुपर्ने भयो । नवौँ दिनमा जबर्जस्ती खान पनि गाह्रो भयो । अक्सिजनको मात्रा ८८ मा झरेछ । शरीरमा असामान्य स्थिति सुरु भइसकेछ । गुगलको सहायता लिएँ । खान मिल्ने, नमिल्ने, घरेलु औषधीको प्रयोग, औषधीको मात्रा, अन्य लक्षणसँग सम्बन्धित औषधी सबै गुगलको सहायताले प्रयोग गरे । स्थिति सामान्य हुँदै गयो ।
सरकारी चाँसो शून्य
परीक्षण गरेको दिनदेखि नै चिकित्सकको निगरानीमा बस्नुपर्ने विश्व स्वास्थ्य संगठनको निर्देशन नै थियो । तर, सरकारी पक्षबाट भने संक्रमित भएको चौथो दिनसम्म पनि कसैको टेलिफोन कल आएन । पाचौं दिनको मध्याह्नतिर कोभिड हटलाइनमा फोन गर्दा उल्टै गैरजिम्मेवार तर्क आयो ।
‘मलाई कोभिड पोजेटिभ आएको छ, कोठामै बसेको छु । के गर्ने होला ?’ मेरो प्रश्नमा ‘तपाईंलाई खासै समस्या छैन भने मास्क लगाएर बजार जानु, सर सामान किनेर ल्याउनु, खानु, सुत्नु, आराम गर्नु आत्मबल बढाउनु, सञ्चो हुन्छ ।’ फोनबाटै प्राप्त भयो चिकित्सकीय पद्धती । त्यसपछि स्वास्थ्यबाट सोधपुछका लागि नागेन्द्र चौधरीले फोन गरे र केही सुझाव दिए ।
संक्रमण भएको दोस्रो हप्ता वडाध्यक्ष रामकुमार केसीले रुघा लागेजस्तो भए २१ दिन कोठामै बस्नुपर्ने सल्लाह दिए । उनको सल्लाह निकै रोचक र घोचक लाग्यो । चिकित्सकीय सुझाव पनि विज्ञकै जसरी दिए । जब उनलाई नै कोभिड नियन्त्रणबारे सामान्य पनि ज्ञान रहेनछ । ‘तातोपानी खानुहोला, फलफूल खानुहोला, सुन्तला भने चिसोमा नखानुहोला है । बाँकी जे गरे पनि हुन्छ ।’ उनको सुझाव ।
सरकारी निकायलाई महामारी रोग परीक्षण गरेको समय, रिपोर्ट आएको समय जानकारी राख्नै मान्दैन । दुई हप्तासम्म पनि सरकारी निकायले बिरामीबारे बेखबर हुन्छ भने दीर्घरोघी तथा गम्भीर लक्षणका बिरामीले त कुन दिन ज्यान गुमाउँछन्, पत्तै नहुने रहेछ भन्ने यस्तै कारणले बुझिन्छ । लामो समयको पीडादायी क्षणपछि ‘चलचित्रमा भूतले मान्छेलाई यताउता फाल्दै अन्तिम अवस्थामा सन्यासीले भूतलाई मारेर छुटाएको मान्छेझैं महसुस भयो । थिलथिल शरीरले विश्राम पायो । गहिरो सास फेरेँ र परिवारमा खुसीको खबर सुनाए । यस्तै भयो ।

Comments
Post a Comment