सय रुपैयाँको लगानी, हजार रुपैयाँ आम्दानी
भूमिराज पिठातोली
प्रकाशित मिति :२३ जेठ २०७५ डिसी नेपाल डटकम
काठमाडौं। भारतको रक्सौलका अमरेशप्रसाद साह बिगत १६ वर्ष अगाडि काठमाडौं आए। काठमाडौंमा आउँदा उनले साइकलमा तरकारी बेच्ने सोच बनाए। केही दिन सुरु पनि गरे तर साइकलमा तरकारी बेच्नलाई धेरै ठाउँमा डुल्नुपर्ने भयो। त्यसपछि उनले फलफूलबाट फ्रुटी बनाइ बेच्ने सोच बनाए र काम पनि सुरु गरे। प्रत्येक दिन फरक फरक चोकमा गएर फ्रुटी बनाइ बेच्न थाले। यसरी उनले सबै ठाउँको बाताबरण बुझे।
अमरेशले तरकारीको व्यापार र फलफूलको व्यापारमा धेरै नै फरक पाए। तरकारी एकदुई दिन बिक्री भएन भने बिग्रन थाल्यो। कोठामा खाने पनि कोही भएन। काठमाडौंमा अमरेश मात्र आएका थिए। त्यसपछि उनले फलफूल किनेर फ्रुटी बनाइ बेच्न थाले। त्यसमा उनको मन लोभियो। करिब एक महिना फ्रुटी बनाइ बिक्री गरेपछि उनले राम्रै आम्दानी गरे। त्यसपछिको व्यवसाय फ्रुटी बनाएर नै बिक्री गर्ने योजा बनाए।
गर्मीयाममा उनको व्यापार चौतर्फी आकर्षित बन्दै गयो। केरा, खरभुजा, स्याउ, गाँजर, काँक्रालगायतका साना–साना एक एक टुक्रा मिलाएर प्लेटमा बिक्री गर्न थाले। त्यो बेलादेखिको उनको रेट प्रति प्लेट २० रुपैयाँ बढी थियो। हाल उक्त प्लेटको ५० रुपैयाँमा बिक्री गर्ने गर्छन्।
सुरु गरेको एकदुई महिना त्यो व्यवसाय गर्दा उनको मन काठमाडौंै रमाउन थाल्यो। रक्सौलमा बस्दा उनलाई धेरै नै गाह्रो हुन्थ्यो। खान बस्न लगायतका समस्याहरु दिनहुँ आइलाग्थे। मजदुरी गर्नलाई पनि काम पाइदैनथ्यो। नेपाल आएर सबै समस्या टरेको उनले बताए। केही वर्षमा अमरेशले आफ्नो परिवारलाई पनि काठमाडौंमा ल्याए। दिनभर आफू फ्रुटी बनाएर बेच्ने र परिवारलाई कोठाको खाना पकाउन काम गर्न र छोरा छोरीको स्याहार गराउन थाले।
उनका दुई जना छोरा र एक जना छोरी सहित पाँच जना कोठामा बस्छन्। जेठो छोरी निजी बिद्यालयमा पाँच कक्षामा पढ्छिन्। एक छोरा तीन कक्षा र एक छोरालाई भरखर बिद्यालयमा भर्ना गरेका छन्। छोराछोरी प्रत्येकको वार्षिक खर्च एकजनाको १९ हजार भन्दा बढी हुन्छ।
उनले छोरा छोरीलाई राम्रो शिक्षा दिइरहेका छन्। आफू पनि स्टान्डर्ड कोठामा बस्दै आएका छन्। उनको मासिक आम्दानी न्युनतम २० हजार भन्दा माथि हुन्छ। दैनिक उनका ग्राहक ५० जना भन्दा बढी हुन्छन्।अमरेश मात्र होइनन्। अमरेशकै सल्लाहमा रक्सौलकै १० जना फ्रुटी बनाएर बेच्ने गर्दछन्। सबैजनाको सपरिवारसहित काठमाडौंमा बस्ने गरेका छन्।
‘उनीहरु राजधानीका चोक चोकमा फ्रुटी बनाइ बिक्री गर्ने सल्लाह दिएँ,’ अमरेश भन्छन्, ‘मेरो सल्लाह अनुसार नै सबैले फ्रुटी व्यवसाय गरे। अहिले उनीहरुको पनि मेरो जस्तै जीवन चल्दैछ।’ ‘नेपालका धेरै युवालाई मैले सल्लाह दिए,’ उनी भन्छन्, ‘कतिपयले त मलाइ धोती भनेर दुब्र्यबहार पनि गरे। मेरो सल्लाहको उल्टै नराम्रो सोचे।’ उनी भन्छन्, ‘हामी अर्को देशको नागरिक भएर पनि आफूलाई आफ्नो पेशामा स्थापित बनाएर बसेका छौं। नेपालीहरुले त गरेमा नहुने कुरै छैन्।’
यसमा लगानी थोरै हुन्छ। तर त्यसको प्रतिफल भने लोभलाग्दो नै हुन्छ। हामीहरु बिहान सबेरै उठेर कुलेश्वर तथा कलंकीका चोकबाट एक सय माथि पाँच सयसम्मको फलफूल किनेर ल्याउँछौं। त्यसपछि कोठामा आएर चिया नास्तासंँगै खाना खान्छौं। दिनभर चोक चोकमा गएर व्यवसाय गर्छौं। बेलुका पख कोठामा जान्छौं। यो नै आफूहरुको दैनिकी भएको उनले बताए।
प्रायः गरेर उनीहरुको सानो पेशा हुँदा भाडा शुल्क तिर्नुपर्दैन। सडकका किनारामा त्यस्तो व्यवसाय गर्नेलाई महानगरपालिकाले रोक्ने गर्छ। त्यस्तो व्यापार गर्नेलाई बेलुकाको पाँच बजेपछि मात्र अनुमति दिन्छ। दैनिक व्यापार गर्नेहरुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा सार्नेलाई जतिबेला पनि व्यापार गर्न पनि छुट दिने गर्छ। देशको बेरोजगार युवा जनशक्तिले पनि यस्तै सोच्न जरुरी छ।

Comments
Post a Comment