भवानीस्थान मावि, जहाँ भविष्य खोज्दै छन् ४२० विद्यार्थी
न्युज कारोबार डटकममा प्रकाशित (भदौ २३, २०७७)
भवानीस्थान मावि, जहाँ भविष्य खोज्दै छन् ४२० विद्यार्थी
भूमिराज पिठातोली
झट्ट हेर्दा उमेर पार गरेर ढलेको आश्रम । आश्रमको पनि कलेजो फोक्सो सबै कुहिएको । ज्यान जोगाउने पाखुरासमेत माटोमा बिलिन हुन लागे जस्तो । नजिकै रहेको हरियो जस्तापाताको वृद्ध शौचालय । त्यसै शौचालयले नै प्रस्ट्याउँछ र भन्छ, वरिपरि सिस्नोघारीले घेरिसक्यो, जन्मन नपाउँदै (पेटमै) मर्ने भयो छिमेकी । यी दृश्य हुन्, डोटीको सायल गाउँपालिका‑३ साइनगाउँमा रहेको भवानीस्थान माविको । चार वर्षअघि निर्माण कार्य सुरु भएको चार कोठे यो भवन निर्माण पूरा नहुँदै अलपत्र परेको छ । हालसम्म पहिलो तला पनि निर्माण सकिएको छैन । अलिकति माथिसम्म उठाइएका पर्खाल पनि भत्किन लागेका छन् । कोठाभित्र घाँस उम्रेर वर्षौं पुरानो जस्तै देखिएको छ ।
भवन जिल्ला शिक्षा समन्वय समितिको सहयोगमा निर्माण सुरु भएको हो । दुई तले निर्माणाधीन भवनका लागि अहिलेसम्म आधाजति पैसा खर्च भइसकेको छ । पहिलो चरणमा १८ लाख विनियोजन भएको भवनको दुई वर्षसम्म पनि पहिलो तला बनेन । दोस्रो किस्ताको रकम गाउँपालिकाले रोकेको छ । निर्माण कार्य सुरु भएका बेला विनियोजन भएको रकम पनि के कति खर्च भयो भन्ने कुनै विवरण सार्वजनिक छैन । विद्यालयका तत्कालीन प्रधानाध्यापक नवराज उपाध्याय र लेखा प्रमुख गोकुल शर्माको नाममा संयुक्त खाता सञ्चालन गरेर खर्च गरिएको थियो । २०७५ असार मसान्तसम्म पनि निर्माण कार्य पूरा नभएपछि बजेट फ्रिज भयो । त्यसपछि २०७५ फागुन २८ गते उपाध्यायले अवकाश लिए । त्यसबेला खातामा जम्मा तीन हजार रुपैयाँ थियो । शिक्षा नियमावलीअनुसार प्रधानाध्यापकले अवकाश लिएको वा सरुवा भएको १५ दिनभित्र सम्पूर्ण विवरण विद्यालयको जिम्मामा दिनुपर्छ । प्रधानाध्यापक उपाध्यायको हकमा भने त्यो लागू भएको छैन । उनले अवकाश लिएको दुई वर्ष पुग्न लाग्यो । अझसम्म उनले कुनै औपचारिक विवरण विद्यालयलाई बुझाएका छैनन् ।
भवानीस्थान माविमा ४२० विद्यार्थीले अध्ययन गर्छन् । स्थापना कालदेखिको जीर्ण भवन र चुहिने दुई-तीन वटा भवनमै सबै विद्यार्थीको पढाइ हुन्छ । छात्रबास तोकिएको सीआरसीको भवनको तल्लो तलामा ग्रामीण विकास केन्द्र र माथिल्लो तलामा विद्यालयका कार्यालय राखिएका छन् । विद्यार्थीलाई पठनपाठनमा सहज होस् भन्नका लागि अघि बढाइएको भवनको निर्माण कार्य समयमा सम्पन्न नहुँदा आगामी दिन झनै कष्टकर हुने विद्यालयका एक शिक्षकले बताए । ‘भवन निर्माणमा १८ लाख रुपैयाँ खर्च भइसकेको भनिएको छ,' नाम नबताउने सर्तमा उनले भने, 'तर त्यसबेला पहिलो तला (छत) हाल्नका लागि स्थानीयले बोकेको गिट्टीबालुवाको पैसा पनि भुक्तानी भएको छैन । करिब चार लाख रुपैयाँ दिन बाँकी छ ।’
विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष वासुदेव उपाध्याय र प्रधानाध्यापक उपाध्यायको कार्यकालमा २०७५ असारदेखि फागुनसम्मको दुई जना शिक्षकको तलब पनि रोकिएको स्रोतले जानकारी दियो । ‘उहाँहरूको पालामा हरेक शीर्षक बजेटमा अनियमितता भएको देखिन्छ । उपाध्यायको कार्यकालमा कुन शीर्षकमा कति खर्च भयो, कति बचत भयो भन्ने कसैलाई जानकारी छैन । उनी जानेबेलामा विद्यालयको खाता रहेको नविल बैंकमा तीन हजार रुपैयाँमात्र बचत थियो,’ विद्यालयका एक शिक्षक भन्छन् । विद्यार्थी भर्ना, परीक्षा शुल्कलगायतका शीर्षकमा खातामा बचत हुनुपर्नेमा अहिलेसम्म प्रअले विद्यालयलाई औपचारिक/अनौपचारिक जानकारी नदिएको शिक्षकहरूको आरोप छ । शिक्षक, कर्मचारी गरी १३ जना कार्यरत रहेको भवानीस्थान माविमा न अफिसका लागि भवन छ न त विद्यार्थीलाई अध्ययन गराउनलाई नै । पुराना भवनका डेस्कबेन्च पनि क्वारेन्टिनमा बस्नेहरुले जलाएका छन् । समयमै सामान नआइपुगेकाले भवन समयमै नबनेको विद्यालयका लेखापाल गोकुल शर्माको तर्क छ । ‘त्यो बेलामै भवन निर्माण भइसक्थ्यो । बीचमा सामान समयमै नपुगेका कारण ढिलाइ भएको हो ।
पहिलो किस्ताको काम नभएको भन्दै दोस्रो किस्ता गाउँपालिकाले दिएन । त्यसैले अहिलेसम्म अलपत्र परेको हो,’ उनले बेलिविस्तार लगाए । विद्यालय स्रोत भने व्यवस्थापन समिति र प्रअ‑लेखापालको चलखेलका कारण पहिलो किस्ताको बजेट दुरुपयोग भएको दाबी गर्छ । नजिकै रहेको दिपायल बजारमा पाउने सामान पनि कैलालीको धनगढीबाट ढुवानी गरेको र दुई लाख रुपैयाँ सामान ढुवानीमै खर्च भएको भनिएको छ । नजिकै पाउने सामानका लागि किन टाढा जानुपरेको थियो ? ढुवानीमै दुई लाख रुपैयाँ कसरी खर्च भयो ? स्थानीय बासिन्दाले पनि यी प्रश्नको उत्तर खोजिरहेका छन् । निर्माणाधीन अवस्थामै अलपत्र परेको सो भवनको निर्माण कार्य कहिले अगाडि बढ्छ थाहा छैन ।
लेखापाल शर्मा नयाँ विद्यालय व्यवस्थापन समिति बनेपछि निर्णय हुने बताउँछन् । ‘अहिले यो विद्यालय बन्ने/नबन्ने भन्नेमा केही भन्न सकिँदैन । नयाँ व्यवस्थापन समिति गठन भएको छैन । नयाँ बन्ने समितिले जे निर्णय गर्छ त्यही हुन्छ,’ उनले भने । भैरवस्थान माविका लागि गाउँपालिकाले भने नयाँ टेन्डर आह्वान गर्ने तयारी गरेको छ । विद्यार्थीलाई पठनपाठनमा समस्या भएकाले नयाँ भवनका लागि छिट्टै टेन्डर आह्वान हुने गाउँपालिका अध्यक्ष तेज डुम्रेलले बताए ।
‘विद्यालयमा भवनहरुको अवस्था दयनीय छ । शिक्षाबाटको भवन निर्माण हुने/नहुने टुंगो नभएकाले अब गाउँपालिकाले नयाँ भवनका लागि काम अघि बढाउँछ,’ उनले भने । गाउँपालिकाले दोस्रो किस्ता भुक्तानी नगरेको विषयमा उनले काम नभएकाले नदिएको प्रतिक्रिया दिए । ‘पहिलो किस्ता शिक्षाबाट नै निकासा भएको थियो । त्यसपछिको जिम्मेवारी गाउँपालिकालाई आयो । गाउँपालिकाले अनुगमन गर्दा समस्या देखेपछि दोस्रो किस्ता रोकेको हो,’ उनले भने ।


Comments
Post a Comment