सुटुक्कै दिइयो ओम्नीलाई भन्सार छुट



 न्युज कारोबार चैत २९, २०७६ मा प्रकाशित


काठमाडौं । सरकारले मिडियामा एकथरि जानकारी दिएर ओम्नीसँगको सम्झौता कायमै राखी उसले आयात गरेका वस्तु भन्सार छुट दिएर भित्र्याउने निर्णय गरेको पाइएको छ । सरकारले विवादास्पद ओम्नी बिजनेस बिजनेस कर्पोरेट इन्टरनेसल (ओबीसीआई)सँग सुटुक्क सम्झौता गरी चीनबाट कोरोना रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरेपछि व्यापक विवाद भएको थियो । सरकारले ओम्नीबाट कोटेशन मूल्यभन्दा २० प्रतिशत बढीमा सामान किन्ने सम्झौता गरिएको खुलासा भएपछि भएपछि चैत १९ गते स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा ओम्नीसँगको सम्झौता खारेज भएको बताएका थिए । 

महानिर्देशक श्रेष्ठले पत्रकार सम्मेलनमा ओम्नीको ५ करोड रुपैयाँ धरौटी जफत गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको बताए पनि त्यसको पाँच दिनपछि सरकारले ओम्नीमार्फत आयात भएको सामानमा सतप्रतिशत भन्सार छुट दिने निर्णय गरेको पाइएको हो । ‘कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने अमेरिकी डल १ करत्तड ३ लाख ३८ हजार ४८८ (करिब १ अर्ब २४ करोड रुपैयाँ) मूल्य बराबरका १९ प्रकारका विभिन्न औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य उपकरण आपूर्तिका लागि स्वास्थ्य सेवा विभाग र ओबीसीआई प्राइभेट लिमिटेडबीच भएको सम्झौताबमोजिम स्वास्थ्य सेवा विभागले खरिद गरी पैठारी गर्ने मालवस्तुमा भन्सार ऐन–२०६४ को दफा २ को खण्ड (म) बमोजिम लाग्ने सम्पूर्ण महसुल छुट दिने,’ अर्थमन्त्रालयद्वारा चैत २४ गतेको मितिमा राजपत्रमा प्रकासित सूचनामा भनिएको छ । 

ओम्नीले सरकारसँग भएको सम्झौताअनुसार पहिलो चरणमा चैत १६ गते नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजबाट ती १९ प्रकारका वस्तुको पहिलो खेप आयात गरेको थियो । पहिलो आयातमा १० प्रतिशतमात्र सामान आपूर्ति गर्न सकेको र महँगो भएको भन्दै सम्झौता रद्द भएको जनाइएको पाँच दिनपछि भन्सार छुटका निर्णय हुनुले सरकारको भनाइ र गराइबीच अन्तर पाइएको हो । अन्तर्राष्ट्रिय कर कानुनको सिद्धान्तअनुसार पाश्चवर्ती कानुन बनाइ कर लागू गर्न पाइँदैन । यो सिद्धान्त कर छुटका हकमा पनि लागू हुन्छ । 

व्यापारिक आयातमा पनि भन्सार

छुट अर्थमन्त्रालयले सोही दिनको निर्णयबाट व्यापारिक हिसाबले आयात हुने र्याापिड टेस्ट किट, मास्क, फेससिल्ड, सु–कभरसहित १७ किसिमका औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्य उपकरण आयातमा भन्सार महसुल पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । मुलुकमा कोरोना भाइरसको संक्रमण विस्तार रोकथाम तथा उपचारका लागि प्रयोग हुने भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम), र्याथपिड डाइग्नोस्टिक किट, पार्टेबल पीपीआर रिजेन्ट किट, क्लोरिन एनडीसीसी, गाउन, फेसमास्क, सु–कभर, फेससिल्डसहितका वस्तुमा भन्सार छुट दिएको हो । यीबाहेक खुद्रा बिक्री हुने फेसमास्क र सर्जिकल ग्लोभ्समा पनि पूर्ण रूपमा भन्सार छुट दिइएको छ । 

स्यानिटाइजर, मास्कसहितका अन्य स्वास्थ्य सामग्री र उपकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको अधिकतम खुद्रा मूल्य (एमआरपी)भन्दा बढीमा बेच्न नपाइने सर्तमा सरकारले भन्सार छुट दिएको हो । यी वस्तुहरू वैशाख १५ गतेसम्म आयात गरी भन्सार विन्दुमा ल्याइपु¥याइएमा तिनमा भन्सार छुट हुने अर्थमन्त्रालयको सूचनामा उल्लेख छ । यस्तै, इन्डक्सन कुकरको आयात पनि पूर्ण रूपमा भन्सार छुट दिने निर्णय गरिएको छ ।

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन

खप्तड : प्रकृतिको अनुपम संगम