म डाक्टर बन्दिनँ !


न्युज कारोबार डटकममा (चैत २९, २०७६) मा प्रकाशित

भूमिराज पिठातोली

काठमाडौं । अस्पतालको शैय्यामा स्लाइन चढाउन आएकी एक जना नर्सले सान्त्वना दिँदै भन्दै थिइन्, ‘उर्मिला ! तिमी ठूली भएपछि के बन्छ्यौ ?’ स्लाइन चढाउने बेलामा हात दुखे पनि फकाउन लागेको उर्मिलाले थाहा पाइसकेकी थिइन् । रिसाएजसरी भनिन्, ‘केही पनि बन्दैन ।’ उर्मिलाको मलिन स्वर सुनेपछि नर्स प्रतिप्रश्न गर्छिन्, ‘रिसाएकी तिमी ?’ शैय्यामा सँगै बसेकी उर्मिलाकी हजुरआमा बिस्नादेवीले ‘अब उर्मिला पनि डाक्टर बन्छे’ भनेपछि वल्लो पल्लो शैय्यामा कुरुवा बसेकाहरुले पनि ‘तिमीले डाक्टर बन्नुपर्छ उर्मिला’ भनेर हौस्याउँदै थिए । 

उर्मिलालाई कान्ति बाल अस्पतालको त्यो वार्डमा भएका कुरुवा र बिरामी बालबालिकाले राम्ररी चिनिसकेका थिए । सबैले ‘तिमीले डाक्टर बन्नुपर्छ’ भनेपछि उर्मिलाले भनिन्, ‘म बन्ने होइन डाक्टर !’ पल्लो शैय्यामा बसेका बिरामी बालकको कुरुवाले सोधे, ‘किन डाक्टर नबन्ने ?’ ‘यसोरी हात साइती हर्दा, नाइ मु बन्न्या हुँन’ बझाङी लवजमा (यसरी हातमा दुखाउँछन्, म त डाक्टर बन्दिनँ) । 

उर्मिलाको त्यो जवाफसँगै सबैले ‘बाठी छे’को संज्ञा दिए । तीन वर्षदेखि निरन्तर कान्ति बाल अस्पतालका चिकित्सकको निगरानीमा छिन् उर्मिला । उनी ६ वर्षअघि खप्तड छान्ना गाउँपालिका ५ बझाङका बासुदेव जोशी र कुन्ती उपाध्यायको पहिलो सन्तानको रुपमा जन्मिएकी हुन् । पुरुषप्रधान पितृसत्तात्मक समाजले उर्मिला पेटमा हुँदै 'छोरा होस्' भन्ने कामना गरिरहेको थियो, उनी छोरी भएर जन्मिइन् । जन्मेको केही समयपछि थाहा भयो कि उनको शरीरमा जटिल समस्या छ भनेर । 

छोराको कामना गर्दा गर्दै जन्मिएकी उर्मिला 

आमाबुवालाई पहिलो सन्तान हुनाले छोरा या छोरी जे भए पनि खासै चासो थिएन । तर, आफन्तहरु भने छोरा जन्मियोस् भनेर कामना गरिरहेका थिए । बुवा, हजुरबुवा, बुढा हजुरबुवा र सबै घरमा एउटै छोरा जन्मिएको हुँदा पनि बासुदेवका दुई तीनवटा छोरा जन्मिउन् भन्ने उनीहरुको अभिलाषा थियो । तर पहिलो सन्तानको रुपमा २०७१ जेठ १४ गते छोरी उर्मिलाको जन्म स्थानीय पाटादेवल स्वास्थ्य चौकीमा भयो । धेरैले त उर्मिलाको जन्मको पनि याद गरिरहेका छन् । 

सरकारले बजेट सार्वजनिक गर्ने दिनमा जन्मिएको हुँदा धेरैले उनको जन्मदिनबारे थाहा पाएका छन् । तर, छोरी जन्मिएपछि समाजमा खासै चासो दिइँदैन । बासुदेवको छोरी जन्मिइ भन्ने खबर सबैलाई पुग्यो । खुसी कोही देखिएनन् । उर्मिला हुर्कंदै गइन् । उनको स्वास्थ्यमा समस्या भएको कसैलाई थाहा भएन । यतिसम्म कि सधैं रेखदेख गर्ने आमा कुन्तीलाई समेत त्यसको हेक्का भएन । 

‘खै दुई तीन महिनापछि थाहा भयो भन्थे । म त बाहिर नै भएकाले स्वास्थ्यमा समस्या भएको जानकारी नै पाइन,’ बासुदेव सम्झिन्छन् । दुई महिनासम्म पनि छोरीको यौनांगमा समस्या देखिएको थाहा नपाउनु परिवारको पनि बेवास्तापन नै थियो । पितृसत्तात्मक पुरुषप्रधान समाजमा छोरी जन्मेकाले नै उनीप्रति कम चासो दिइएकोमा दुई मत थिएन । उनको समस्या परिवारलाई त लामो समयसम्म थाहा हुँदैन भने छिमेकीहरुलाई थाहा हुने कुरै भएन । धेरै पछि उज्यालो ठाउँमा नुहाउँदा उनको समस्या थाहा भयो । 

के थियो उनको विराम ?

 उर्मिलाको जन्म भएको दुई महिनापछि उनको यौनांगमा समस्या भएको थाहा भयो । दुई महिने शिशुको स्वास्थ्यमा देखिएको समस्याले भने धेरैलाई भावविह्वल बनायो । दुई महिने शिशुको समस्या देखिएको गाउँघरमै फैलियो । उपचार हुने/नहुने कसैलाई थाहा भएन । अन्तिममा सबैले दैवी लीला भन्दै ‘जतिसम्म बाँच्छे यत्तिकै बाँच्छे, त्यसपछि मर्छे’ भन्ने चित्त बुझाए । दिसा पिसाब गर्ने नली एउटै रहेछ । त्यसबेला महेन्द्रनगरमा पढ्दै गरेका बासुदेवलाई उर्मिलाको समस्या थाहा भएको दुई हप्तापछि जानकारी दिइयो । त्यसपछि बासुदेवका चिनजानका मान्छेले उपचार सम्भव हुने सल्लाह दिएपछि उनको परिवार उपचारमा जुट्यो । उनको दिसा गर्ने नली खोल्नका लागि धेरै ठाउँमा शल्यक्रिया गर्नुपर्ने थियो । 

पिसाब नली मात्र भएकाले दिसा नली खोल्नुको विकल्प थिएन । त्यसपछि मात्र ‘उपचार हुने रहेछ’ भनेर परिवारमा आशा पलायो । उपचारमा लामो समय लाग्ने सल्लाह पनि उनीहरूले पाएका थिए । नाबालिका उर्मिलाको भने पिसाब गर्ने नलीबाटै दिसा बगिरहेको थियो । शिशुवस्थाकी भएकाले खासै कसैले देख्दैनथे । त्यो समस्या परिवारमै सीमित थियो । उनको परिवारलाई सोच्दासोच्दै र सल्लाह लिँदालिँदै लामो समय बित्यो । 

६ वर्षसम्म उपचारको प्रयास

 जेठ १४ गते जन्मिए पनि उनको समस्या साउनमा थाहा भयो । समस्या थाहा भएपछि परिवार तथा छिमेकीहरु दुःखी भए । पछि उपचार सम्भव हुने सल्लाह पाएपछि परिवार उपचारमा लाग्यो । जन्मेको पाँचौं महिना कात्तिकमा बुवा बासुदेव र आमा कुन्ती उपचारका लागि अछामको बयलपाटा अस्पतालमा पुगे । उर्मिलाको उपचारका लागि पहिलो अस्पताल नै बयालपाटा थियो । 

सुरुमा सामान्य परीक्षणका लागि गएका उनीहरुलाई अस्पतालले 'केही गर्न नसकिने' जवाफ दियो । त्योभन्दा पनि बयालपाटाका स्वास्थ्यकर्मीहरु उर्मिलाको स्वास्थ्य समस्याबारे अनभिज्ञ नै थिए । ‘यहाँ त यो बारेमा हामीलाई केही जानकारी छैन । यस्तो समस्याको पनि होला र उपचार ?' बयालपाटाका एक स्वास्थ्यकर्मीको भनाइ उद्धृत गर्दै बासुदेवले भने, 'भारततिर जानुपर्छ होला ।’ बयालपाटाबाट सिधै उर्मिलाको परिवार कञ्चनपुर गयो, जहाँ बासुदेव अध्ययन गरिरहेका थिए । कञ्चनपुरबाट उनीहरु भारत गए । 

भारतमा उनका कान्छा मामा टीकाराम पण्डित थिए । पहिलो पटक भारत गएको हुँदा बासुदेवका परिवारलाई केही जानकारी थिएन, न भाषा न त अरु केही । मामासहित आफन्तको सहारामा उनीहरु उत्तराखण्डस्थित खटिमा आनन्द चिल्ड्रेन हस्पिटल गए । त्यो अस्पतालले फेरि अर्को दिल्लीको कलावती बाल अस्पतालमा रिफर गर्यो् । त्यहाँ चेकजाँच गर्दा उनलाई नौ महिनापछि आउन सुझाव दिइयो । उनीहरू महेन्द्रनगर फर्किए । 

भारतमा मजदुरी गर्न गएका उनका मामालगायत आफन्तको खासै फुर्सद पनि नहुने, आफूलाई पनि भाषालगायत केही जानकारी नभएको हुँदा उर्मिला नौ महिना नभई विस्तारै आफू पढाइ सकेर जागिर गर्ने र छोरीको उपचार गर्ने सोचमा पुगे बासुदेव । त्यो बेलामा उनी विज्ञान विषयमा स्नातक अध्ययन गरिरहेका थिए । त्यसपछि आमाछोरीलाई घर पठाए र आफू पढ्न थाले । उर्मिला साढे तीन वर्षकी भइन् । २०७४ सालको दसैंमा गाउँमा दन्त चिकित्सक डा. कुम्भराज जोशीसँग भेट भयो । दाजु नाता पर्ने डा. जोशीसँगको भेटमा बासुदेवले उर्मिलाको कहानी बेलिविस्तार लगाए । लामो समयपछि आएकाले डा. जोशी पनि केही समय गाउँघरमै बसे ।

डा. जोशीले बासुदेवलाई आफू काम गर्ने अस्पतालमा उर्मिलाको समस्या हेर्ने चिकित्सकसँग कुरा गर्ने र खबर गरेपछि ल्याउन सल्लाह दिए । त्यसै महिना असोज २० गते आमाबुवाका साथ उर्मिलालाई पहिलो पटक काठमाडौं ल्याइयो । काठमाडौं पनि नयाँ ठाउँ भएकाले बासुको परिवारलाई केही जानकारी थिएन । साथमा उनका मामा कुश्मराज पण्डित हुँदा सजिलो भयो । कान्ति बाल अस्पतालमा उर्मिलाको स्वास्थ्य परीक्षण गरियो । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरुले विभिन्न कारण देखाउँदै माघमा आउन सल्लाह दिए । 

माघमा उर्मिलाको शल्यक्रियाका लागि बोलाइएको थियो । ‘आफ्नो मान्छे नभए त कतै काम नहुने रहेछ, त्यो बेला कुम्भ दाजु नभइदिएको भए अहिलेसम्म पनि अपरेसन हुन्थेन होला,’ बासु सम्झिन्छन् । डाक्टरहरुले माघमा आउनु भनेपछि परिवारमा ठूलो पिर थपियो । यति लामो बाटो, धेरै खर्च गरेर आउनु, त्यसैमाथि सामान्य चेकजाँच पनि नहुनु, लामो समय पर्खनुपर्ने भएपछि उनीहरू चिन्तित भए । ‘दाजुले हाम्रो समस्या ती डाक्टरसमक्ष राखिदिनु भयो र छोरीको पहिलो अपरेसन कात्तिकमै भयो,’ उनले भने । 

डा. अनुपमा थापाको टोलीले पहिलो शल्यक्रिया गरेपछि दिसा गर्ने नली पनि खोलियो । चिकित्सकले दोस्रो शल्यक्रिया त्यसै वर्षको माघमा गर्ने बताएपछि उर्मिलालाई लिएर परिवार घर फर्किए । माघमा उर्मिलाकी हजुरआमा नातिनी लिएर अस्पताल आइन् । अस्पतालमा शल्यक्रिया गरेर खोलेको दिसा नली सानो भएको भन्दै खुकुलो बनाउने सामग्री फेरि प्रयोग गर्नु भन्दै घर पठाए । एक वर्ष त्यत्तिकै बित्यो । २०७५ माघमा फेरि अर्को शल्यक्रिया (क्लोस्टोमी) भयो । त्यो बेलामा उनको पेट काटियो । 

पेटमा झोला झुन्ड्याएर दिसा गर्ने बनाइयो । त्यसबीचमा दिसा नली खुकुलो बनाउनुको विकल्प नै थिएन । माघमा दोस्रो शल्यक्रिया गरिएको थियो । त्यसै वर्षको फागुनमा अर्को शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाहपछि उर्मिलालाई लिएर हजुरआमा आइन् । बासुदेव सम्झिन्छन्, ‘यो बीचमा धेरै पटक काठमाडौं धाउनुपर्योह तर काम भएन । बोलाउँथे, आउथ्यौं र फर्केर जान्थ्यौं ।’ फागुनमा शल्यक्रिया गर्न जाँदा पनि प्वाल सानो (दिसा नली) भएको भन्दै चिकित्सकले फिर्ता पठाए । फेरि वैशाखमा बोलाए । त्यसबेला पनि सामान्य परीक्षण गर्दै फिर्ता पठाइयो । सुधार हुँदै गएको जानकारी पाउँदा परिवारमा आशाको सञ्चार भने हुन्थ्यो तर भर थिएन । लगातार साउन, असोज हुँदै माघमा चौथो अपरेसन भयो । अब सामान्य अवस्थामा आएकी छन् उर्मिला । 

दसौं पटक काठमाडौंको यात्रा

 सुदूरपश्चिबासीलाई काठमाडौं निकै टाढा लाग्छ । काठमाडौंभन्दा भारतको राजधानी दिल्लीनजिक पर्छ । बझाङलगायत उच्च हिमाली जिल्लाका कतिपय नागरिक त नेपालभन्दा भारतबारे बढी जानकार छन् । त्यहाँका कतिपय नागरिकलाई त 'काठमाडौं भनेको अर्कै देश हो कि' जस्तै लाग्छ । भारतको हावापानीको स्वाद नचाखेको परिवार भेटाउन सकिँदैन सुदूरपश्चिममा । त्यसै समाजका हुन् उर्मिलाका परिवार पनि । उर्मिलाका बुवा अहिले २५ वर्षका भए । कञ्चनपुरमा अध्ययन गर्दै गरेका बेलासम्म उनलाई छोरीको उपचार कसरी गर्ने भन्ने कुराले निकै पिरोलिरहन्थ्यो । सुदूरपश्चिबासीलाई काठमाडौं निकै टाढा लाग्छ । बझाङलगायत उच्च हिमाली जिल्लाका कतिपय नागरिक त नेपालभन्दा भारतबारे बढी जानकार छन् ।

२०७४ असोजको दसैं बिदामा बझाङ गएका बासुदेव छोरी उर्मिला र श्रीमती कुन्तीदेवीलाई साथमा लिएर ५० घण्टाको यात्रा गर्दै काठमाडौं पुगेका थिए । ‘त्यो बेलामा सोचेजस्तो, चलचित्रमा देखेजस्तो फिटिक्कै लागेन काठमाडौं,’ उनी सम्झिन्छन्, ‘छोरीको कारणले पहिलो पटक काठमाडौं आएको थिएँ । मैले सोचेजस्तो काठमाडौं पाइनँ । जताततै फोहोर, अव्यवथित फुटपाथ पसल र भीडभाडले फिटिक्कै मन परेन राजधानी ।’

डेरामा बसेका आफन्तको पाहुना भएर छोरीको स्वास्थ्य परीक्षणपछि फेरि बझाङ फर्किएका उर्मिलाका आमाबुवा र बज्यैको काठमाडौं यात्रा १० पटक भइसकेको छ । बझाङबाट काठमाडौं आउन उनीहरुलाई चार दिन लाग्छ । बझाङबाट सिधै महेन्द्रनगर जान्छन् । महेन्द्रनगरमा मामाको घर छ । एक दिन त्यहाँ आराम गर्छन् । दोस्रो दिन काठमाडौंको यात्रा तय गर्छन् । ‘काठमाडौंमा आउँदा कहिलेकाहीँ त अस्पतालले धेरै दुःख दिन्थ्यो,’ उनी भन्छन् । चिकित्सकले समय तोकेका बेलामा अस्पतालमा पुग्दा पनि ‘यो भएन, त्यो भएन’ भनेर कयौं पटक फर्काएको उनी बिर्सन सक्दैनन् । ‘विभिन्न वहाना गर्दै अस्पतालले समय लम्ब्याइरह्यो । दुई वर्षको अवधिमा १० पटक काठमाडौं धाउनुपर्योब । शल्यक्रिया भने चार पटक भयो ।’ 

शल्यक्रिया चुनौतीपूर्ण 

कान्ति बाल अस्पतालमा २०७४ को कात्तिकमा पहिलो शल्यक्रिया गरेको दुई वर्षमा उर्मिलाको चार पटक शल्यक्रिया भयो । सुरुमा दिसा गर्ने नली खोलेको बेलादेखि पेटको प्वाल बन्द गरेकोसम्म चौथो पटक शल्यक्रिया भयो । जन्मजात नै अंग नभएका बालबालिकालाई सामान्य अवस्थामा ल्याउनु चानचुने कुरा होइन । उर्मिलाको उपचारमा संलग्न डा. अनुपमा थापा भन्छिन्, ‘अस्पतालमा यस्ता बालबालिका सयौं आउँछन् । 

हामीले पनि चुनौतीका साथ शल्यक्रिया गर्छौं । लामो समय पनि लाग्छ । बिरामीका आफन्त भने हामीलाई पक्षपात गर्योे भन्ठान्छन् । हामीले सक्दो सफल उपचार गर्ने प्रयत्न गर्छौं ।’ शल्यक्रियाको समयमा ढिलाइ भए पनि सफल उपचार होस् भन्ने आफूहरुको मनसाय हुने उनले प्रस्ट पारिन् । ‘उर्मिलाको जस्तो गम्भीर समस्या भएका बालबालिकालाई हामीले लामो समय लगाएर पटक पटक रेखदेख गर्नुपर्छ । सबै समस्या सुधारोन्मुखतिर गएपछि मात्रै अन्तिम शल्यक्रिया गर्नुपर्छ,’ उनले भनिन् । 

उर्मिलाको शल्यक्रिया अगाडि ‘भोक’को अनुभव 

अहिले उर्मिलाको कुरा सुन्दा जोकोहीलाई पनि उनी परिपक्व भइसकिन् जस्तो लाग्छ । उनको उमेर सानो भए पनि कुरा जिम्मेवार मान्छेका जस्तै छन् । अस्पतालमा पनि उनको वार्डका सबैले राम्ररी चिन्थे । उर्मिलाले भनिन्, ‘अरु बेलाको भन्दा अपरेसन हुनुभन्दा अगाडि साह्रै भोक लाग्थ्यो । 

अपरेसन हुनुभन्दा अघिल्लो दिनदेखि केही खाना खान दिँदैनन् । सब्बुले खानु, मुइले मात्र हेरिरनु (सबैले खान्थे, म हेरिरहनु) । अपरेसन भएपछि भने केही थाहा हुँदैनथ्यो ।’ शल्यक्रिया सफल भएपछि पनि दोस्रो दिनसम्म केही खानेकुरा दिइँदैन । ‘पानी पनि दिँदैनन्,’ उनले भनिन्, ‘पानी प्यास लागेको बेलामा पानी नदिएपछि साह्रै रिस उठ्छ ।’ उनका कुरा सुनेपछि वल्लोपल्लो शैय्याका कुरुवाहरु हाँस्न थाल्थे । ‘अब त पाइहाल्छौ नि खानेकुरा । किन आत्तिनुपर्योन,’ एक बिरामीको कुरुवाले भन्थे । ‘पानी त खानुपर्योि नि ! यस्ता नि डाक्टर हुन्छन्,’ उनी मुख बिगार्दै भन्थिन् । वार्डमा गलल्ल हाँसो उठ्थ्यो । 

टिपुरी उर्फ उर्मिला 

उर्मिला जन्मिदा कम तौलकी र सानी भएकीले गाउँघरमा ‘टिपुरी’ भन्छन् । उनको स्वास्थ्यमा समस्या भएको थाहा पाएपछि अधिकांशले 'खर्च गर्नुभन्दा मरोस्' भन्थे । यसमा न आमाबुवाको दोष थियो न त उर्मिलाको नै । यसको मुख्य दोषी चेतनास्तर नै थियो । ‘लाखौं खर्च हुने भएपछि कतिपयले त उसको उपचारका लागि अगाडि नै नबढ भन्नसम्म सल्लाह दिए,’ बासुदेव सम्झिन्छन्, ‘जसले जे भने पनि छोरी त मेरी हो नि ! संसारको नजरमा कुरुप लाग्ने छोराछोरी पनि आमाबाबुको नजरमा सुन्दर लाग्छन् । यो बुझ्न मेरो समाजले अझ सयौं जुनी फेर्नुपर्छ ।’ 

मामा घरबाट हर कुरामा सहयोगको कमी नभएपछि बासुदेवले कहिल्यै हिम्मत हारेनन् । सानैमा बाबु गुमाएका उनलाई मामाघरबाट पूर्ण सहारा मिल्यो । ‘मामा हुनुहुन्थेन भने मेरो जिन्दगी खै के हुन्थ्यो थाहा छैन, सोच्न पनि सक्दैन,’ उनी भन्छन् । ‘विभेदपूर्ण तरिकाले छोरी मरोस् भन्ने कामना गर्ने समाजलाई छोरी सामान्य अवस्थामा फर्किएकोमा पक्कै दुःख छैन होला,’ उनी भन्न चाहन्छन्, ‘सन्तानलाई विभेद कहिल्यै नगर्नुहोस् । यसलाई मेरो समाजले सकारात्मक रुपमा लेओस् ।’ 

शल्यक्रियाका बेलामा एकपटक उर्मिलाको ३४ घण्टापछि मात्र होस् खुलेको थियो । त्यसबेलामा धेरैले अब ज्यान जाने हो कि भनेर चिन्ता व्यक्त गरेका थिए । ‘मलाई त यति डर लागेको थियो कि कुरै नगरौं । धेरै ठाउँबाट सयौं पटक फोन आएको थियो । बल्ल बल्ल होस् आएको खबर डाक्टरले दिएपछि शान्त भएको थिएँ,’ बासुदेव भन्छन् । 

‘उर्मिला नेता बन्छे’ 

उपचाररत उर्मिलालाई बेला बेलामा नर्सहरु आएर ‘अब तिमी डाक्टर बनेर हाम्रो जस्तै उपचार गर्ने है...’ भन्दै हौसला दिन्थे । उनी तुरुन्तै बुझ्थिन् र भन्थिन्, ‘फकाउनका लागि त हो ।’ उनको कुरा सुनेपछि वार्डमा हाँसो गुन्जिन्थ्यो । ‘अब लाटी (नातिनी) डाक्टर बन्छे है,’ हजुरआमा भन्थिन् । 

‘यसरी अरुका शरीरमा सुई घोच्नलाई के को डाक्टर ? नाइँ,’ उनी फेरि मुख बिगार्थिन् । वार्डमा फेरि हाँसो गुन्जिन्थ्यो । चिकित्सकहरु आएर हौसला दिँदै भन्थे, ‘अब तिमी नेता बन्नुपर्छ ।’ नेता बनाउने कुरा सुनेपछि उनको मुहार उज्यालो देखिन्थ्यो । 

त्यही अवसरमा डा. कुम्भ जोशी भन्थे, ‘अब उर्मिलालाई बझाङबाट नेता बनाउनुपर्छ । के छ तिम्रो विचार ?’ 

‘बन्छु’ उर्मिला भन्थिन् । 

‘अहिलेसम्म तिमीले सबैलाई दुःख दिएकी छ्यौ, अब नेता बनेर सबैको सेवा गर्नुपर्छ है...!’ उनी मुस्कुराउँछिन् मात्र ।

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन

विपदमा पीडितको टेको बन्दै धीरा खत्री