विदेशमा रहेका नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ
न्युज कारोबार डटकममा चैत १६, २०७६ मा प्रकाशित
भूमिराज जोशी
काठमाडौं । नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा रहेका कति नेपालीले ज्यान गुमाए भन्नेमा सरकारले अनभिज्ञता जनाएको छ । परराष्ट्र मन्त्रालयले कोरोनाभाइरसबाट विदेशमा रहेका नेपालीको अवस्थाबारे यकिन जानकारी नभएको जनाएको हो । चीनको वुहानबाट डिसेम्बर ३१ देखि सुरू भएको कोरोनाभाइरसबाट विश्वभर ३० हजारभन्दा बढीको ज्यान गइसक्दा सरकार आफ्ना नागरिकबारे गम्भीर नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी सुरु भएको छ ।
कोरोनाबाट विदेशमा कति नेपालीको ज्यान गयो, कति सिकिस्त छन् र कति सामान्य उपचारमा छन् भन्ने थाहा नपाउनुले सरकारको गम्भीर लापर्बाही दर्शाउने उनीहरूको आरोप छ । विदेशस्थित नेपाली कूटनीतिक निकायले सही तथ्य नराख्नु र परराष्ट्र मन्त्रालयसँग समन्वय नहुनुले सरकारको गैरजिम्मेवारी देखिन्छ । चीनको वुहानमा कोरोना फैलिएपछि त्यहाँ रहेका नेपालीलाई काठमाडौंमा ल्याउने बेलामा छुटेका नेपालीको अवस्थाबारे समेत परराष्ट्र बेखबर छ । डेढ महिना बित्दा पनि नागरिकको अवस्था जानकारी नलिएरै भगवानको भरोसा जस्तै ‘सञ्चै होलान्’ भन्ने गैरजिम्मेवार उत्तर दिन्छन् परराष्ट्र मन्त्रालयका कर्मचारी ।
फागुन ४ गते चीनका विभिन्न सहरबाट १७५ जना नेपाली नागरिकलाई उद्धार गरेर ल्याइएको थियो । बेइजिङस्थित नेपाली दूतावासमा घर फर्किन चाहने १८१ जना नेपाली नागरिकले फाराम भरे पनि कोरोनाको आशंकामा ६ जनालाई नेपाल आउन दिइएको थिएन । त्यसबेला चीनको वुहानबाट ५५, झिङ्झाओबाट ४८, सियनबाट २९, इन्सीबाट २६, जिङमेनबाट ९ र यिचाङबाट ८ जना गरी १३४ पुरुष र ४१ महिलालाई नेपाल ल्याइएको थियो । डेढ महिना समय बित्दा पनि रोकिएका ६ जनाबारे सरकारलाई यकिन जानकारी छैन ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता भरतराज पौड्याल भन्छन्, ‘यस विषयमा हामीलाई यकिन जानकारी छैन । सायद उहाँहरुलाई सञ्चो भइसक्यो होला ।’ परराष्ट्र मन्त्रालयलाई आफ्नै नागरिकबारे जानकारी नै किन नभएको ? भन्ने न्युज कारोबारको जिज्ञासामा उनले भने, ‘उहाँहरु हाम्रो सम्पर्कमा आउनुभएको छैन । त्यसैले केही थाहा भएन । उहाँहरु कसैलाई कोरोना संक्रमणपछि सञ्चो भएको र कसैलाई कोरोना पोजेटिभ नै नभएको हुनसक्छ ।’ विश्वभर महामारीको रुपमा फैलिएको भाइरसका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्याबारे पनि सरकार यकिन छैन ।
published link..विदेशमा रहेका नेपालीको अवस्थाबारे सरकार अनभिज्ञ
‘कोरोनाभाइरस संक्रमणबाट विदेशमा नेपालीहरुले ज्यान गुमाए त भन्छन्,तर तिनीहरु नेपाली नै हुन् या नेपाली मूलका हुन् यकिन जानकारी छैन,’ प्रवक्ता पौड्याल भन्छन्, ‘कतिपयले उतै देशको नागरिकता लिइसकेका हुन सक्छन्, कतिपय नेपाली नागरिक पनि हुन सक्छन् । विदेशमा नेपालीले ज्यान गुमाएको भन्ने दुईवटा घटना सुनिएका छन्‑ अमेरिका र बेलायतमा । उहाँहरुका परिवारबाट पनि हामीलाई जानकारी आएको छैन, त्यसैले हामीलाई त्यति थाहा भएन ।’ अहिलेसम्म विदेशमा तीन जना नेपालीले ज्यान गुमाइसकेको खबर आइरहेको छ । तर, ती नेपाली हुन् वा नेपाली मूलका हुन् भन्ने जानकारी कसैलाई छैन । लामो समयदेखि विदेशमा बस्दै आएका उनीहरुको कोरोना संक्रमणबाट ज्यान गएको भने पुष्टि भइसकेको छ ।
को हुन् विदेशमा ज्यान गुमाउने 'नेपालीहरु' ?
चैत ११ गते अमेरिकामा कोरोनाभाइरसका कारण एक नेपालीको ज्यान गएको थियो । पाँचथरको रानिगाउँ निवासी ५० वर्षीय अनिल लिम्बूको अमेरिकाको न्युयोर्कमा ज्यान गएको हो । १५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका लिम्बू नेपाली मूलका अमेरिकी नागरिक हुन् या नेपाली नागरिक नै हुन् भन्ने नेपाल सरकारलाई थाहा छैन । कोरोनाकै कारण बेलायतमा पनि दुई जना नेपालीले ज्यान गुमाइसकेका छन् । लन्डनस्थित साउथ ह्यारोमा बस्दै आएका संखुवासभा खाँदबारी निवासी ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईले गत हप्ता ज्यान गुमाए । त्यस्तै गत सोमबार साउथ इस्ट लन्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको मृत्यु भएको थियो । चितवन घर भएका अर्याल सामान्य ज्वरो तथा खोकी बढेपछि क्विन एलिजाबेथ अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचारकै क्रममा उनको ज्यान गएको हो ।

Comments
Post a Comment