महासंघको चुनावमा विरासतदेखिकै खटपट, गोल्छा स्वतन्त्र नबस्दा इतिहास दोहोरिने डर


न्युज कारोबारमा प्रकाशित साउन ५, २०७७   


भूमिराज पिठातोली

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवा महासंघ)को निर्वाचन जति नै नजिकिँदै छ, उति नै पद्म ज्योति र विनोद चौधरीको पालादेखिको गुटबन्दीको माखे जालो बेरिन थालेको छ । विगतमा जस्तो जाति र सम्प्रदायवादी गुट नभए पनि अहिले पूर्व र पश्चिम भनेर गुटबन्दी गर्न थालिएको महासंघसम्बद्ध व्यवसायीहरूले गुनासो गरेका छन् । साउनको २६ र २७ गतेको ५४औं वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि दुई प्यानल प्रतिस्पर्धामा छन् । चैतमा गर्नुपर्ने महाधिवेशन कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण २६ र २७ साउनमा सारिएको हो । मिति तोक्ने विषयमा नै महासंघका पदाधिकारीहरूबीच एकमत हुन सकेन । 


महासंघको अध्यक्ष पदको निर्वाचनमा ठूलो गुटबन्दी हुँदै महासंघ नै दुई हाँगामा विभाजन भएसँगै विधान परिमार्जन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरियो । यसपटकको अधिवेशनमा वरिष्ठ उपाध्यक्षलगायतका बाँकी सबै पदका लागि चुनाव हुनेछ । अहिले वरिष्ठ उपाध्यक्षको पद सम्हालिरहेका शेखर गोल्छा निर्वाचनपछि स्वतः तीन वर्षका लागि अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षका लागि अहिले दुई प्यानल बजारमा गरम देखिएका छन् । व्यवसायीहरु चन्द्र ढकाल र किशोर प्रधान दुवैले आफूहरुले सजिलै चुनाव जित्ने दाबी गरिरहेका छन् । वरिष्ठ उपाध्यक्षसहित चार उपाध्यक्षमा प्रतिस्पर्धा हुने चुनावी प्यानलमा दुवै पक्षले केन्द्रीय कार्यकारिणी समितिमा उम्मेदवार टुंगो लगाएका छैनन् । महासंघको चुनावमा मुख्यतः जिल्ला/नगर उद्योग वाणिज्य संघहरू र एसोसिएटतर्फका सदस्य (उद्योगी‑व्यवसायी)को मुख्य भूमिका रहन्छ । उनीहरूलाई जसले बढी आफ्नो पक्षमा पार्नसक्यो, महासंघको नेतृत्वमा उही आउने गरेको देखिन्छ । गत साता (असार ३० गते) काठमाडौंमा कार्यक्रम गरी चन्द्र ढकालको प्यालनले आफ्नो समूह सार्वजनिक गरेको थियो । 


ढकालको प्यालनबाट वरिष्ठ उपाध्यक्षमा ढकाल, जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसिएटतर्फबाट रामचन्द्र सांघाईले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी, वरिष्ठ उपाध्यक्षकाअर्का उम्मेवार प्रधानको प्यानलबाट एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेवारी घोषणा गरेका छन् । महासंघमा लामो अनुभव बटुलेका प्रधान र ढकाल करिब दुई दशकदेखि महासंघका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल बैंकर एवं लगानीकर्ता हुन् भने प्रधान विराटनगरका स्थापित व्यवसायी हुन् । पछिल्लो दशकमा व्यावसायिक रुपमा आक्रामक ढंगले उदाएको आइएमई समूहका अध्यक्ष ढकाल पहिलो पटक महासंघमा कार्यकारिणी सदस्यमा निर्विरोध चुनिएका थिए । तीन वर्षअघि ढकाल एसोसिएटतर्फबाट  निर्विरोध उपाध्यक्ष बनेका थिए । उम्मेदवारी घोषणा गर्दै उनले छन्, ‘हामी चुनाव जितेपछि तपाईंहरुको सम्पर्कबाट भाग्ने वाला होइनौं । कम्तीमा हाम्रो टिमले जे भन्छ, त्यो पूरा गरेर छाड्छ, आजका दिनमा यो हाम्रो टिमका तर्फबाट सामूहिक प्रतिबद्धता पनि हो ।’ उनको स्वभाव र शैली पनि सरल छ । अर्थात्, ढकाल जो कसैका लागि सहजै उपलब्ध हुन्छन् । अर्का प्रत्यासी प्रधान पनि वरिष्ठ उपाध्यक्ष पद आफ्नै पोल्टामा पर्नेमा ढुक्क जस्तै देखिएका छन् । 


उद्योग संगठन मोरङबाट व्यावसायिक राजनीतिमा प्रवेश गरेका प्रधान महासंघमा आफू ‘सिनियर’ भएको भन्दै निर्वाचित हुनेमा निश्चिन्त देखिएका छन् । प्रधान यसअघि महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग हारे पनि रिक्त भएको जिल्ला नगर उपाध्यक्षमा दोस्रो पटक उठेर जितेका हुन् । उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘सम्पूर्ण टिमलाई जिताउन मेरो उम्मेदवारी हो । टिमलाई जिताउनु मेरो सबैभन्दा ठूलो कर्तव्य हो । अहिले मेरो कमान्डर शेखर गोल्छा, उहाँले मलाई क्याप्टेनको रुपमा हेर्नुभएको छ । निर्वाचनको युद्धमा लड्नका लागि मेरो कप्तानीमा मेरा साथीहरू लड्न अगाडि बढेका छन् । यो टिमले निश्चित रुपमा जित्छ र उद्योग वाणिज्य महासंघको अनुहार फेर्छ ।’ प्रधानको प्यानल घोषणा कार्यक्रममा पनि अध्यक्ष पदका लागि पर्खिरहेका (प्रेसिडेन्ट इन वेटिङ)ले खुलेरै आफूले प्रधान र उनको टिमलाई सघाउने बताएका छन् । उनले भनेका थिए, ‘महासंघभित्र काम गर्न गाह्रो छ, मैले अध्यक्षका रुपमा निजी क्षेत्रको बाटो तय गर्नुपर्ने छ, यसका लागि बलियो टिम चाहिन्छ ।’ 


दोहोरो दबाबमा गोल्छा


किशोर प्रधान प्यानलको प्रचार सम्पर्क कार्यालय उद्घाटन गरेको भन्दै ढकाल प्यानलले गोल्छाप्रति असन्तुष्टि जनाएका छन् । महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष राजकर्णिकार महासंघको अध्यक्ष हुन लागेको व्यक्तिले एउटा समूहलाई समर्थन गर्दै हिँड्न ठीक नभएको बताउँछन् । त्यस्तै पूर्वअध्यक्षहरू पनि ‘प्रेसिडेन्ड इन वेटिङ’ गोल्छा स्वतन्त्र बस्नुपर्ने तर्क गर्छन् । महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकाल यसरी महासंघको अध्यक्ष हुन लागेको व्यक्तिले समूह विशेष समातेर हिँड्दा देशभरिका उद्योगी‑व्यवसायीका छाता संगठनको गरिमा बिग्रने बताउँछन् । 


महासंघको पछिल्लो राजनीतिबाट वाक्कदिक्क भएका अर्का एक पूर्वअध्यक्ष पनि यस्तो पक्षधरताले विगतमा उद्योग परिसंघ जन्मेको, चेम्बरले महासंघकै संरचनामा जाने निर्णय लिएको स्मरण गराउँदै भन्छन्, ‘अहिले साथीहरुले महासंघलाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउनेतिर लाग्नुभयो । फेरि इतिहास दोहोरिने हो कि भन्ने डर बढेर गयो ।’

महासंघको चुनावमा विरासतदेखिकै खटपट, गोल्छा स्वतन्त्र नबस्दा इतिहास दोहोरिने डर

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन

खप्तड : प्रकृतिको अनुपम संगम