प्रदेश सरकारले भ्रमणमै सके ६० करोड
न्युज कारोबार असार ५, २०७७ मा प्रकाशित
भूमिराज पिठातोली
काठमाडौं । विशिष्ट व्यक्तिसहित अन्यको भ्रमणका लागि भन्दै प्रदेश सरकारले करोडौं रकम विनियोजन गरेका छन् । विशिष्ट व्यक्ति तथा अन्यको भ्रमणका लागि भन्दै प्रदेश सरकारहरुले संघले उपलब्ध गराएभन्दा बाहेक ठूलो रकम विनियोजन गरेका हुन् । प्रदेश २ बाहेकका प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १४ करोड २७ लाख ७६ हजार र ०७६/७७ मा २३ करोड दुई लाख ७६ हजार रकम भ्रमणका नाममै सकेका छन् । आगामी आव २०७७/७८ का लागि ६ वटै प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरे भने प्रदेश २ ले बजेट कपी उपलब्ध गराएको छैन ।
आगामी आवका लागि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम सरकारले २२ करोड १५ लाख ४० हजार रकम विनियोजन गरेका छन् । यी प्रदेशले गत वर्ष र चालू वर्षमा मात्रै ३७ करोड ३० लाख ५२ हजार भ्रमण खर्च गरेका छन् भने आगामी आवका लागि प्रदेश सरकारले छुट्याएको २० करोड ७७ लाख ९४ हजार र संघीय सरकारबाट अनुदान प्राप्त गरेको एक करोड ३७ लाख ४६ हजार गरी २२ करोड १५ लाख ४० हजार रुपैयाँ विनियोजन गरेका छन् । सरकार सञ्चालनको तीन वर्षमा भ्रमणमा मात्रै ६ प्रदेश सरकारले ५९ करोड ४५ लाख ९२ हजार रुपैयाँ खर्च गर्नेछन् ।
सात प्रदेशमध्ये प्रदेश २ ले भ्रमणका लागि बजेट छुट्याए पनि सार्वजनिक भने गरेको छैन । बाँकी ६ प्रदेशले बजेटको अनुसूचीमा सार्वजनिक गरेका छन् । जसमा भ्रमणका लागि सबैभन्दा बढी कर्णाली प्रदेशले छुट्याएको छ । कर्णाली प्रदेशले तीन वर्षको अवधीमा १४ करोड ५० लाख ६७ हजार रुपैयाँ छुट्याएको छ । आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेशले दुई करोड ९० लाख ११ हजार रुपैयाँ विनियोजन गरेको थियो भने चालू आर्थिक वर्षका लागि ६ करोड ४२ लाख २५ हजार रुपैयाँ भ्रमणका लागि छुट्याएको तथ्यांकले देखाएको छ । त्यस्तै आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारबाट दुई करोड ३६ लाख ७४ हजार र संघको अनुदानबाट १३ लाख ६६ हजार गरी दुई करोड ५० लाख ४० हजार रुपैयाँ विनियोजन गरेको छ । यसरी भ्रमण खर्चको लागि मात्रै कर्णाली प्रदेशले तीन वर्षमा ११ करोड ८२ लाख ७६ हजार रुपैयाँ निकासा गरेको छ । त्यस्तै ‘विशिष्ट व्यक्तिको भ्रमण’का लागि २ करोड ६७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको तथ्यांक छ ।
प्रदेश ५ मा विशिष्ट व्यक्ति र अन्य व्यक्तिको भ्रमणका लागि ११ करोड ९२ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । भ्रमणका लागि विनियोजन गरिएको भन्ने शीर्षकमा गत आर्थिक वर्ष २०७५/७६ मा दुई करोड ४७ लाख ९९ हजार विनियोजन गरिएको थियो । त्यस्तै चालू आर्थिक वर्षमा तीन करोड ५० लाख ९३ हजार र आगामी आर्थिक वर्षको लागि चार करोड ८७ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । आगामी आवमा चार करोड ५७ लाख ८६ हजार प्रदेशबाट र संघको अनुदानबाट ३० लाख ६ हजार प्राप्त गर्ने गरी जम्मा खर्च १० करोड ८६ लाख ८४ हजार विनियोजन गरिएको छ । त्यस्तै प्रदेश ५ को ‘विशिष्ट व्यक्ति तथा अन्यको भ्रमण’ भन्ने फरक शीर्षकमा तीन वर्षमा १ करोड ५ लाख ५६ हजार विनियोजन गरिएको छ । प्रदेश १ मा पनि विशिष्ट व्यक्ति तथा अन्यको भ्रमणका लागि तीन वर्षमा १० करोड ५८ लाख ५२ हजार रुपैयाँ विनियोजन गरेको छ ।
भ्रमणका लागि छुट्टै शीर्षकमा ९ करोड ४३ लाख १८ हजार रुपैयाँ छुट्याएको छ भने विशिष्ट व्यक्ति तथा अन्यको भ्रमणका लागि १ करोड १५ लाख ३४ हजार विनियोजन गरेको छ । गत आर्थिक वर्षमा दुई करोड ८४ लाख ८९ हजार रुपैयाँ र चालू आर्थिक वर्षमा तीन करोड १६ लाख ६३ हजार रुपैयाँ विनियोजन गरेको छ । आागामी आर्थिक वर्ष २०७७/०७८ मा तीन करोड २४ लाख ९९ हजार प्रदेशबाट र १६ लाख ६७ हजार रुपैयाँ प्राप्त गर्ने गरी विनियोजन गरेको अर्थ मन्त्रालय प्रदेश १ को तथ्यांकले देखाएको छ । बागमती प्रदेश सरकारले भ्रमणका नाममा ८ करोड ६४ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ ।
गत आर्थिक वर्षदेखि आउँदो आर्थिक वर्षसम्मको लागि सो रकम विनियोजन गरेको हो । जसमा गत आर्थिक वर्ष २०७५/७६ मा एक करोड ९८ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको थियो । त्यस्तै चालू आर्थिक वर्ष ०७६/७७ को लागि दुई करोड ९७ लाख ५० हजार रुपैयाँ र आगामी आर्थिक वर्षको लागि दुई करोड ६४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारबाट दुई करोड २९ लाख ५५ हजार र संघीय सरकारको अनुदानबाट ३५ लाख ३७ हजार रुपैयाँ प्राप्त गर्ने गरी विनियोजन गरेको तथ्यांकले देखाएको छ । त्यस्तै विशिष्ट व्यक्ति तथा अन्यको भ्रमणका लागि भन्ने अर्को शीर्षकमा तीन वर्षमा १ करोड ३ लाख १९ हजार छुट्याइएको छ ।
गण्डकी प्रदेशले पनि तीन वर्षमा सात करोड ५९ लाख सात हजार खर्च गरेको छ । गत आर्थिक वर्षमा गण्डकी सरकारले एक करोड ५३ लाख ८६ हजार खर्च गरेको थियो भने चालू आर्थिक वर्षमा पनि दुई करोड १६ लाख ३१ हजार खर्च गरेको छ । त्यस्तै आगामी २०७७/७८ का लागि ३ करोड ३७ लाख ८० हजार रुपैयाँ छुट्याएको छ । सुदूरपश्चिम प्रदेशमा भ्रमणका लागि मात्रै भनेर ६ करोड ७१ लाख ६८ हजार रुपैयाँ विनियोजन गरेको छ ।
भ्रमणका लागि भन्ने शीर्षकमा मात्रै ६ करोड ६५ लाख ६१ हजार छुट्याएको छ । जसमा गत आर्थिक वर्षमा एक करोड ७५ लाख ८५ हजार विनियोजन गरेको छ । त्यस्तै चालू आर्थिक वर्षमा दुई करोड २ लाख २८ हजार विनियोजन गरिएको छ । त्यस्तै आगामी आर्थिक वर्षको लागि प्रदेशबाट दुई करोड ७१ लाख ४२ हजार र संघीयबाट १६ लाख ६ हजार प्राप्त गर्ने गरी विनियोजन गरिएको छ । यसरी पाँचवटै प्रदेश सरकारले भ्रमणका लागि मात्रै ५९ करोड ४५ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको तथ्यांकले देखाएको छ ।

Comments
Post a Comment