यस्तो पनि क्वारेन्टिन !




जेठ ७, २०७७ मा प्रकाशित न्युज कारोबार डटकममा


भूमिराज पिठातोली

काठमाडौं  । मंगलबार साँझतिर फेसबुकमा एउटा पोस्ट देखियो । हेमराज जोशीले आफ्नो टाइमलाइनमा गाउँले दाजुभाइको सहयोगमा सामान्य टहरा बनाएर बाहिरबाट आएकाहरुलाई त्यहीँ राख्ने व्यवस्था गरेको स्ट्याटस र तस्बिर पोस्ट गरेका रहेछन् । तस्बिर देख्नेबित्तिकै लाग्यो  मानिसहरु आफैँ यति संयमित छन् भने त्यसमा सरकारले थोरै मात्र सहजीकरण गरिदिए सबैको जीवन सुरक्षित हुन्थ्यो होला । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ बाट आफू पनि बाँचौँ र अरुलाई पनि बचाऔँ भन्ने मनसायले उनीहरु गाउँनजिकै टहरा बनाएर बसेका रहेछन् । सुरक्षित तरिकाले बस्नका लागि व्यवस्थित नभए पनि हेमराजलगायतले सानो टहरा बनाइदिएका रहेछन् । 

खप्तड छान्ना गाउँपालिका ५ पिठातोलाका हेमराजले छिमेकी काकाभाइ गाउँमा आउन लागेको खबर पाउनेबित्तिकै कोरोना महामारीका बेलामा सबै सुरक्षित रहनुपर्छ भनेर तत्कालका लागि वल्लोपल्लो घरबाट सामान जुटाउँदै टहरा बनाएको बताए । हेमराजले भने, ‘गाउँ पुग्नुभन्दा अगाडि काकाले हामी आउँदै छौं भनेर फोन गर्नुभएको थियो । बाटोमा भने कतै क्वारेन्टिन रहेनछ, एक ठाउँमा ज्वरो नाप्यो र पठाइदियो भन्नुभयो । त्यसपछि हामीले पनि यता सामान्य भए पनि टहरा बनायौं, वल्लोपल्लो घरबाट खानेकुराको जोहो गर्यौँन । उहाँहरु आउनुभयो र बस्नुभयो ।’ अहिले विश्व नै लकडाउनको अवस्थामा छ । निर्विकल्प रुपमा लकडाउन र परीक्षणको दायरा बढाउनेबाहेक कोरोनाभाइरस नियन्त्रणको कुनै उपाय छैन । तर, सरकारले हेमराजका काकाजस्तैका लागि भने कुनै प्रबन्ध नगर्दा जटिल समस्या उत्पन्न भइरहेको छ । हेमराजका काका चन्द्रप्रकाशले भने, ‘कोरोनाले लकडाउन अनिश्चितकाल देखिएको हुँदा कैलालीमा बस्न सकिएन । गाउँमा बाली लगाउने र भित्र्याउने चटारो भएपछि क्वारेन्टिनमा बसे पनि दिउँसोतिर खेतीपातीको काम गरौंला भनेर दाजु लीलाराम, भतिजो करुणसहित घर (पिठातोला) आएको हुँ ।’

‘कैलाली जिल्ला प्रशासनको पास बनाएर एउटा सानो गाडी रिजर्भ गर्दै हामीसहित तीन जना तल्लो क्षेत्र (अर्को गाउँपालिका) बझाङ आयौं,’ उनले भने, ‘उहाँहरु तल नै झर्नुभयो, हामी तमैलसम्म आयौं । बाटोमा सबै ठाउँमा बन्द भएका कारण अघिल्लो दिनदेखिका भोकै थियौं । तमैलबाट फेरि खप्तड छान्नाका लागि हिड्यौँ । क्वारेन्टिनमै बस्नुपर्ला र केही खानुपर्ला भनेर सोच बनाएका थियौँ तर कहीँकतै केही व्यवस्था नभएको हुँदा गाउँमै केही दिन टहरो बनाएर बसौंला भनेर सोच्यौं र घर आयौं । यता, भतिजाहरुले बस्ने झुप्रो बनाएका रहेछन् ।’ गाउँपालिकाले बाहिरबाट आएका नागरिकलाई कुनै चासो नदिएको हेमराजको आरोप छ । 

‘अघिल्लो हप्ता म पनि काठमाडौं, धनगढी हुँदै बझाङ आएको हुँ । घाँटखोलामा गाउँपालिकासँग क्वारेन्टिनको व्यवस्थाबारे बुझ्दा गाउँपालिका अध्यक्षले 'आफ्नै घरमा जाने, उतै बस्ने' भनेपछि सिधै घर आउनुपरेको हो । एक डेढ हप्ता चैनपुर बसेको हुँदा सजिलो भयो, गाउँपालिकाको भर परेको भए बर्बाद हुने रहेछ ।’ कोरोनाभाइरस आइहालेमा गाउँ नै सखाप हुनसक्छ भन्दै काकाहरुलाई पनि सुरक्षित बस्ने व्यवस्था गरेको उनले बताए । ‘अहिले उहाँहरु आफैंले थर्मोमिटर ल्याएर बेलाबेलामा ज्वरो नापिरहनुभएको छ । स्वास्थ्यकर्मीको पहुँचबाट टाढा भएको हुँदा ज्वरो बढी आएमा र स्वास्थ्यमा अन्य समस्या आएमा स्वास्थ्य चौकी जाने सोच बनाएका छौं,’ उनले भने । 

गाउँपालिका र स्थानीयको आ आफ्नै दाबी 

कोरोनाभाइरस नियन्त्रणका लागि गाउँपालिका र स्थानीयका आ आफ्नै दाबी छन् । सम्पूर्ण व्यवस्था गरेको दाबी गर्ने गाउँपालिकाको कुरालाई स्थानीय भने ठाडै अस्वीकार गर्छन् । खप्तड छन्ना गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले गर्वका साथ बाहिरबाट आएकालाई गाउँपालिकाकै खर्चमा सम्पूर्ण व्यवस्था गरेको बताउँछन् । तर, बाहिरबाट घर गएकाहरु भने बेलाबेलामा सिधै गाउँमा जाने गरेको स्थानीय बताउँछन् । अध्यक्ष रोकाया भने बाहिरबाट आउनेलाई अनिवार्य १४ दिनदेखि २१ दिनसम्म क्वारेन्टिनमा राख्ने गरेको बताउँछन् । गाउँगाउँमा पनि पर्याप्त राहत र स्वास्थ्य सामग्री वितरण गरिरहेको उनले दाबी गरे । स्थानीयले भने गाउँपालिका अध्यक्षको कुरामा रत्ति पनि विश्वास गरेका छैनन् । खप्तड छान्ना गाउँपालिका ४ का स्थानीय गोकर्ण जोशी भन्छन्, ‘गाउँपालिका अध्यक्षले के भन्नुभयो हामीलाई थाहा छैन । हाम्रो गाउँमा भने कसै कसैलाई राहत वितरण गरिएको छ । सुरुमा गरिब भनेर नाम छनौट गरेर कसै कसैलाई १५ किलो चामल, एक किलो दाल, तेल दिएको थियो । फेरि थप नाम संकलन गरेर विवाद भएपछि कसैले पाए, कसैले पाएका छैनन् ।’ 

स्वास्थ्य सामग्रीको नाममा भने एक घरमा एक मास्क वितरण गरेको जोशीले बताए । ‘हाम्रै गाउँबाट वडासदस्यको प्रतिनिधित्व गरिरहनुभएका धनराज जोशीले घर घरमा एउटा एउटा मास्क वितरण गर्नुभएको छ । मेरो घरमा त बुवाले बच्चाहरु झगडा गर्न थाले भनेर सदस्यज्यूलाई कि दुईवटा मास्क दिनुस् कि नदिनुस् भन्नुभएको रहेछ । त्यसैले दुईटा मास्क दिएको रहेछ । राहत भन्ने कुरा त त्यस्तै हो ।’ गाउँपालिका अध्यक्ष रोकायाका अनुसार कोरोना नियन्त्रणका लागि ४० लाखबराबर विनियोजन गरिएको छ । ‘खप्तड छान्ना गाउँपालिकामा १३ लाख प्रदेश सरकारबाट आएको र बाँकी २६ २७ लाख गाउँपालिकाले छुट्याएका छौं । यसै बजेटबाट गाउँपालिकाका सबै वडा टोलहरुमा पर्याप्त राहत र स्वास्थ्य सामग्री वितरण गरेका छौं । नपाएको कुनै वडा पनि छैन । 

वडाध्यक्ष, वडासदस्यको नेतृत्वमा अहिले पनि हामीहरु गाउँघरमै खटिएका छौं । अहिले पनि २६ जना जति क्वारेन्टिनमा राखेका छौँ, ११ जना योभन्दा अगाडि पनि राखेका थियौं,’ उनले भने । दुई हप्ताअघि काठमाडौं बस्ने खप्तड छान्ना गाउँपालिका स्थायी घर भएका केशव जोशी फोन गरेको अडियो रेकर्ड पनि भाइरल भएको थियो । गाउँपालिका अध्यक्षसँग केशवले गरेको कुराकानीमा पनि अध्यक्ष रोकायाले भनेका थिए, ‘लकडाउनको बेलामा कसैले यहाँ आउने होइन । हामी केही गर्ने छैनौं । यहाँ आए भने पनि आफ्नै घर जालान्, हामीलाई कुनै मतलव छैन । क्वारेन्टिन बनाऊ भन्नेहरुले पनि भ्रष्टाचार गर्नका लागि होलान् । हामीलाई भने केही मतलब छैन ।’ 

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन

विपदमा पीडितको टेको बन्दै धीरा खत्री