जसलाई जनताले हराए, नेताले जिताए



न्युज कारोबार काठमाडौं भदौ १९, २०७७ मा प्रकाशित       


भूमिराज पिठातोली

नेपाली राजनीतिमा नैतिकताको खडेरी पर्दै गएको पछिल्लो बामदेव प्रकरणले प्रस्टै देखाउँछ । चाकरी, नातवाद, कृपावादकै कारण जनताद्वारा बहिष्कृत नेताहरु राजनीतिक पदमा हालिमुहाली गर्न पुग्ने गरेको यो एउटा मात्रै उदाहरण हो । विगतदेखि वर्तमानसम्मका सरकार र राजनीतिक दलको मिलिभगतमा निर्वाचनमा पराजित नेतालाई कुनै न कुनै राजनीतिक जिम्मेवारी दिने गरेका छन् । कतिपयलाई राष्ट्रिय सभामा मनोनित गरेर मन्त्रीसम्म पनि बनाउन चलखेल गरिने गरेको छ । संविधान कार्यान्वयन गर्ने अडान लिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा झनै यस खालका अनैतिक गतिविधिमा लिप्त देखिएको छ । 

नेकपा सरकार संवैधानिक निकायमा पनि नातावाद, कृपावादको बाटो रोज्दै आफ्नै नजिकका र आफू्लाई सहयोग गर्नेलाई नै संवैधानिक पदमा नियुक्त गरेर विवादमा तानिँदै आएको छ । केही समयअघि लगानी बोर्डको कार्यकारी निर्देशकमा दर्जनौं निर्माण आयोजना अलपत्र पार्ने नेपाल एजेन्ट सुशील भट्टको नियुक्तिको चर्चा सेलाएको छैन । भट्टको चर्चा नसेलाउँदै उपप्रधानमन्त्री ईश्वर पोखरेलका सम्धी (सातौं पटक संवैधानिक पदमा हालीमुहाली) प्रा. डा. उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य वैंकको अध्यक्ष बनाउनका लागि सञ्चालक समितिमा नियुक्ति गरिएको थियो । सम्धी काण्ड नसेलाउँदै बामदेव काण्डले बजार तताइसकेको छ । लगानी बोर्डका भट्ट नियुक्ति हुनुअघि पनि दर्जनौँ व्यक्तिलाई यही सरकारले संवैधानिक पदमा नियुक्त गरिसकेको छ ।

चुनाव हारेर पनि राजनीतिक पद

बर्दियाका जनताले सांसद बनाउन नचाहेर हराएका नेकपाका नेता बामदेव गौतमलाई पार्टीले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको छ । उनलाई लामो समयदेखि प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, मन्त्री, प्रधानमन्त्री बनाउनेसमेत नेकपाले आश्वासन दिँदै आएको थियो । यसपटक भने बामदेवका ‘ईश्वर दाहिना’ भएका छन् । गौतममात्रै होइनन्, यसअघि नेकपाले प्रतिनिधि सभा सदस्यमा हारेका नारायणकाजी श्रेष्ठलाई पनि राष्ट्रिय सभा सदस्य बनाइसकेको छ । गोरखा २ मा तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका श्रेष्ठ प्रत्यक्ष निर्वाचनमा हारेका नेता हुन् । 

पार्टीले टिका लगाएकै भरमा उनलाई जनप्रतिनिधिले चुनाव जिताएर राष्ट्रिय सभा सदस्य बनाएका हुन् । राष्ट्रिय सभा सदस्यमा मात्रै होइनन्, जनताले हराएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त झनै 'भाग्यमानी' नेता हुन् । जनताले काठमाडौं र रौतहटबाट चुनाव हराएका नेता नेपाललाई अहिलेको सत्तारुढ दलसमेत रहेको नेकपा एमाले र तत्कालीन माओवादीले पुरस्कार स्वरुप उनलाई प्रधानमन्त्री नै बनाएको थियो । त्यसबेला तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'संविधान लेखनमा माधव नेपालको आवश्यकता छ' भन्दै संविधान सभा सदस्य बनाए । पछि प्रधानमन्त्रीसमेत बनाइदिए । तर, उनले संविधान निर्माणमा कुनै पहल कदमी लिन सकेनन् । 

संविधान नबनी पहिलो संविधानसभा खारेज भयो । जनताले हराएको नेतालाई पार्टीले टिका लगाएर पद दिनु नेकपामा सामान्य भइसक्यो । नेकपामै यस्ता सासंद पनि छन्, जो वडा सदस्यबाट हारेर पनि प्रनिनिधि सभाको सदस्य भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका ५ को वडा सदस्य उम्मेदवार भएर पराजित भएकी लक्ष्मीकुमारी चौधरी अहिले प्रनिनिधि सभा सदस्य छन् । स्थानीय तहको निर्वाचनमा वडा सदस्यबाट पराजित भएपछि नेकपाले चौधरीलाई कैलाली क्षेत्र नम्बर ५ को समानुपातिक कोटाबाट प्रतिनिधि सभामा ल्याएको हो । उनी २०७४ को स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिका ५ बाट वडा सदस्यमा ७९८ मत प्राप्त गरी पराजित भएकी थिइन् । त्यस्तै झापाको मेची नगर नगरपालिका प्रमुखमा पराजित भएका विष्णु प्रसाईं पनि ‘भाग्यमानी’ को सूचीमा परे । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई वर्तमान सरकारले बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्दा प्रसाईंको नाम पनि सिफारिस भयो । 

अहिले उनलाई नेकपा सरकारले बागमती प्रदेश प्रमुख नियुक्त गरेको छ । त्यस्तै तनहुँको भानु नगरपालिका प्रमुखमा पराजित भगवती न्यौपाने पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका प्रमुखमा पराजित विमला घिमिरे पनि अर्को भाग्यमानी महिला हुन् । उनलाई नेकपाले राष्ट्रिय सभा सदस्यमा निर्वाचित गराएको हो । त्यस्तै दाङ २ ‘क’ बाट पराजित नेकपा नेता जगप्रसाद शर्मालाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित गरिएको छ । सिन्धुपाल्चोक निशंखुपाखर गाउँपालिका सदस्यबाट पराजित सिंगबहादुर बिकलाई पनि राष्ट्रिय सभामा पठाइएको छ । 

नैतिकता नभएपछि चम्किएको भाग्य

विश्लेषकहरु राजनीतिमा नैतिकता नभएपछि जे पनि हुने बताउँछन् । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी भन्छन्, 'राजनीतिमा अनैतिकता हावी भएपछि हारेका नेताको भाग्य चम्किनु स्वाभाविक हो । आफ्ना मान्छे भर्ती गर्नका लागि विधान, पद्धति मिच्नु सत्तारुढ दलहरूका लागि सामान्य भइसक्यो ।’


Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

विपदमा पीडितको टेको बन्दै धीरा खत्री

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन