क्वारेन्टिनमा बसेकालाई किरासहितको बासी खाना
वैशाख ७, २०७७ मा न्युज कारोबार डटकममा प्रकाशित समाचार
भूमिराज पिठातोली
काठमाडौं । गएको मंगलबार कैलालीको गोदावरी नगरपालिका ४ का दिनेश मल्ल दैनिक उपभोग्य सामान नेपालगन्ज पुर्याौएर कैलाली फर्कंदै थिए । बाटोमा बर्दियाको भूरीगाउँबाट अलपत्र परेका कैलालीका १० जनालाई देखे । गाडी अगाडि बढाउनै लाग्दा १० जना नै अगाडि आएर ट्रक रोके र आफूहरु अलपत्र भएको भन्दै कैलाली लैजान हारगुहार गरे । उनले पनि मानवीय समवेदना देखाउँदै सबैलाई ट्रकमा बोकेर कैलाली पुर्यापए ।
ना. ६ ख ५६६५ नम्बरको ट्रक चालक मल्लले मानवीय समवेदना देखाउँदै ट्रकबाट एक जना चौमाला र ९ जना धनगढी गरी सबैलाई उनीहरूले चाहेको ठाउँमा छोडे । धनगढी ल्याउँदा आफूले उद्धार गरेको भन्दै जो कोहीबाट ‘धन्यवाद’ पाउनुको सट्टा उल्टै प्रहरीले प्रक्राउ गरेर क्वारेन्टिनमा राखेको उनले गुनासो गरे । मल्लले भने, ‘मैले सोचेको पनि थिइन, कसैलाई सहयोग गर्दा पनि घात हुने रहेछ भनेर । गाडी बिग्रिएको थियो । तर पनि उनीहरुको पीडा सम्झेर छोड्न सकिएन । धनगढी ल्याउँदा उल्टै धोका पाइरहेको छु ।’
कोरोनाको आशंकाकै आधारमा आफूलाई क्वारेन्टिनमा राखेकोमा उनलाई पछुतो छैन । ‘तर क्वारेन्टिनको नाममा नरकमा पठाएको हुँदा दुःखी छु,’ उनले भने । मंगलबारबाट सिधै रंगशालामा बनाइएको क्वारेन्टाइमा राखेपछि आफूले तिर्खा मेट्ने गरी पानी पनि नपाएको उनले गुनासो गरे । न्युज कारोबारसँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘पटक–पटक साबुन पानीले हात धुनु भनिएको छ तर अहिलेसम्म दिनमा दुई लिटरभन्दा बढी पानी पाएको छैन । दुई लिटरले हात धुने कि पिउने ?’ पानीभन्दा पनि खानेकुरामा उनको ठूलो गुनासो छ ।
‘अहिलेसम्म कहिल्यै पनि त्यस्तो खाना खानुपरेको थिएन,’ उनले भने, ‘बासी खाना त्यसमा पनि काँचो खाना (रोटी) खुवाइएको छ । तरकारीमा त झनै किरा परेको तरकारी दिइरहेका छन् । यस्तो खाना त हाम्रो घरतिर वस्तुलाई पनि दिइँदैन ।’ किरा परेको तरकारीको फोटो/भिडियो देखाउँदै उनले भने, ‘कोरोनाबारे हामी पनि सचेत छौं तर मानवीय समवेदना नै नभएकाहरुबाट उल्टै रोगले ग्रसित भइएला भन्ने चिन्ता बढेको छ ।’
चार दिनमा तीन छाक मात्र खाना खाएको उनले बताए । ‘खान लायकको भए पो खानु, देख्नेबित्तिकै बान्ता होला जस्तो खाना कसरी खानु ?’ घरको भन्दा सुरक्षित भएर बस्नका लागि भनेर बनाइएका क्वारेन्टनमा धेरै लापर्बाही भएको उनले गुनासो गरे । उनले भने, ‘यो विषम परिस्थितिमा भाइरस संक्रमण भइहालेमा पनि स्वस्थकर खानेकुरा खाएमा रोगसँग लड्ने क्षमता हुन्छ भन्ने सुनिएको थियो तर खानाको नाममा यो फोहोरले त धेरै दिन बाँचिदैन होला जस्तो लाग्छ ।’ यो समस्या दिनेश मल्लको मात्र होइन, त्यो ठाउँको क्वारेन्टिनमा बसेका सबैलाई उस्तै अवस्था छ । उनीसँगै आएका डडेल्धुराका विनोद देउवालाई पनि उस्तै समस्या छ ।
सिधै ल्याएर वस्तुभाउ बाँधे जस्तै गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘यहाँ न खानको व्यवस्था छ न अरु नै ।’ शौचालयका लागि पनि उस्तै समस्या भएको उनी गुनासो गर्छन् । ‘शौचालयमा पानी भरिएर बाहिर जताततै गन्धमात्रै आइरहेको छ,’ उनले भने । क्वारेन्टिनमा बस्नेहरुको गुनासो सुनेपछि हामीले धनगढी उपमहानगरपालिकामा के हो वास्तविकता भनेर बुझ्न खोज्यौं । नगर प्रमुख नृपबहादुर बडले फोन नै उठाएनन् ।
प्रवक्ता सन्तोष मुड्भरीले पनि फोन उठाएनन् । त्यसपछि उपप्रमुख सुशीला मिश्र भट्टसँग सम्पर्क गर्दा उनले आफूलाई यो विषयमा केही जानकारी नभएको बताइन् । ‘फेसबुकमा खानामा किरा भएको गुनासो आएको त सुनेकी थिएँ, तर कुन ठाउँको हो, एकीन जानकारी भएन,’ उनले भनिन् । धनगढीको रंगशालामा बनाइएका क्वारेन्टिनमा बस्नेहरुका लागि खाना खुवाउने जिम्मेवारी एउटा मिष्ठान्न भण्डारले लिएको उनले बताइन् । ‘क्वारेन्टिनमा बस्नेहरुको अवस्थाको बारेमा गुनासो आएको छ ।
अहिले फेरि पनि त्यही कुरा सुनाउनुभयो, अब म आफैं क्वारेन्टिनको अवलोकन गर्न जान्छु ।’ उनले यो विषम परिस्थितिमा दाताहरुको सानो कमजोरीलाई ठूलो बनाउन खोजेको पनि हुन सक्ने बताइन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण तथा रोगथामका लागि बनाइएका क्वारेन्टिनमा बस्नेको अवस्था झनै कष्टकर बनेको भन्दै धेरैले आलोचना गर्दै आएका छन् ।

Comments
Post a Comment