खप्तड : प्रकृतिको अनुपम संगम


न्युज कारोबार डटकममा कार्तिक १२, २०७७ मा प्रकाशित

भूमिराज पिठातोली

काठमाडौं । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने एक प्राकृतिक सुशोभित क्षेत्र हो । भू-स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले प्रकृतिको अनुपम उपहारका रुपमा चित्रण गर्छन् । आँखाले नभ्याउने विशाल फाँटहरु, हिउँदमा सेताम्मे र वसन्त ऋतुमा रंगीविरंगी फूलले छोपेका मैदानले खप्तडको आंशिक परिचय दिन्छ । 

वर्षायाममा हरियाली फाँट र हिउँदमा सेताम्य बाक्लो हिउँको अनुभूति गर्नेहरुको नजरमा खप्तड शास्त्रमा वर्णित अमरावतीभन्दा कम लाग्दैन । त्यसैले हुनसक्छ, पहिलो पटक खप्तड भ्रमण गर्नेहरु स्वर्गमा पुगेको प्रतिक्रिया दिने गर्छन् । खप्तडका विभिन्न स्थानका आ-आफ्नै महत्व र पौराणिकता छ । खप्तडको अर्को छोटो परिचय हो, २२ पाटन, २५ मैदान र ५२ वटा थुम्का (झोती) । यी दृश्यको अवलोकनसँगै हरेक मानिसले जीवनभरका दुःखपीडा एक क्षणका लागि भए पनि बिर्सिन्छन् ।

खप्तडको ऐतिहासिकता 

पौराणिक कालमा ऋषिमुनिहरुले तपस्या गरेको यो क्षेत्रलाई ‘खेचरादी’ पर्वतका रुपमा वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम विस्तारै अपभ्रंश हुँदै खप्तड रहन गएको किंम्बदन्ती छ । पौराणिकताअनुसार पाण्डवहरुले १४ वर्ष वनबास बस्दा केही समय खप्तडमा पनि बिताएका थिए । खप्तडमा भीमले हलो जोत्दा माटोबाट थुम्का (झोती) बनेको कथन छ । 

खप्तडको प्रचारप्रसार 

वि. सं. २०४२ सालमा राष्ट्रिय निकुञ्ज स्थापना भएदेखि खप्तडले पर्यटकलाई आकर्षित गर्दै आयो । समुद्र सतहबाट २४–३७ सय मिटर उचाइ र २२५ वर्गकिमी क्षेत्रफलमा फैलिएको खप्तडमा ५० वर्षअघि खप्तड बाबाले तपस्या गरेका थिए । खप्तड बाबाको आगमनपछि स्थानीयले राजा वीरेन्द्रलाई आग्रह गरेपछि २०४२ सालमा खप्तडलाई राष्ट्रिय निकुञ्ज घोषणा गरियो । त्यसपछि दुई सयभन्दा बढी प्रजातिका फूलहरु र बहुमूल्य जडिबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेजस्ता जंगली जनावर र पन्छीको सुरक्षाका लागि २०४७ सालमा नेपाली सेनाको ब्यारेक स्थापना गरियो ।

वि. सं. २००२ सालमा बझाङी राजा रामजंग सिंहको अगुवाइमा खप्तडका जंगलमा तपस्या गरिएको थियो । त्यसपछि खप्तड देवभूमिका रुपमा प्रख्यात हुँदै गयो । देश–विदेशमा यसको महत्व र धार्मिक पर्यटनको महत्वबारे प्रचार-प्रसार गरेपछि खप्तडको महिमा बढ्दै गएको छ ।

के-के पाइन्छ खप्तडमा ? 

बझाङ, बाजुरा, अछाम र डोटी गरी चार जिल्लाको संगमस्थल खप्तड राष्ट्रिय निकुञ्जले मध्यपहाडी वातावरण, वनस्पति र वन्यजन्तुको प्रतिनिधित्व गर्दछ । यो क्षेत्रमा सल्ला, खस्रु, पाउमेल, निगाला, भोजपत्र, गुराँस, रानीसल्लो, उत्तिस, महुवा, लौठसल्लालगायतका रूख–वनस्पति पाइन्छन् । तथ्यांकमा हेर्दा निकुञ्जअन्तर्गत वन क्षेत्र १९९.७३, घाँसे मैदान १३.४७, कृषि भूमि ९ र झाडी बुट्यान २.८ वर्गकिमी छ । खप्तडमा ३८२ प्रकारका रुख, वनस्पति तथा जडीबुटी पाइन्छन्, जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २०३, लहरा ८ र उन्यु १९ प्रजातिका छन् । 

कालकुट, पाँचऔंले, नीरमसीजस्ता जडिबुटी पनि पाइन्छन् । १२ वटा गुफा भएको खप्तड क्षेत्रमा २८७ प्रजातिका पन्छी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप र ६ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन् । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तुरी, चितुवा आदि जनावर खप्तडमा प्रशस्तै भेटिन्छन् । स्थानीयहरुले जेठी बहुरानी, सहस्त्रलिंग, केदार ढुंगा, नागढुंगा, भुदेउ ढुंगा, माइका थानलगायतका स्थानलाई शिवस्वरूप मानेर पूजा गर्ने गर्छन् । 

 खप्तड संस्कृतिको संगम : गंगा दशहरा

हरेक वर्ष जेष्ठ शुल्कपक्ष दशमी तिथिमा पर्ने गंगा दशहरा मेलामा हजारौं तीर्थालु खप्तड पुग्ने गर्छन् । गंगा दशहराको दिन त्रिवेणीमा नुहाँउदा पाप पखालिने, पितृलाई तर्पण दिँदा पितृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पूरा हुने गहिरो विश्वास रहेकोले यो मेलाको आकर्षण धेरै छ । दुई दिनसम्म लाग्ने मेलामा अघिल्लो दिन खुला पुरुष भलिबल, घोडा दौडलगायतका खेल कार्यक्रमको रौनक बेग्लै हुन्छ । 

राति फेरि सुदूरपहाडको देउडाले मेलास्थल गुञ्जायमान हुन्छ । भोलिपल्ट त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच, रनपुतला नाचलगायतका नाचबाट तीर्थयात्रीले रोमाञ्चित हुने अवसर पाउँछन् । मेलामा करिब ५० हजार तीर्थालुको उपस्थिति रहन्छ । 

कसरी पुगिन्छ खप्तड ? 

देशको राजधानी काठमाडौंबाट करिब १५ घण्टाको समयमा बसबाट धनगढीको अत्तरिया पुगिन्छ । अत्तरियाबाट खप्तड जान बझाङ, बाजुरा, अछाम र डोटीबाट जाने प्रवेशद्वार बनाइएको छ । त्यसमा पनि खप्तडबाट सबैभन्दा नजिक रहेको सडक सञ्जाल बझाङ छान्नाको मेल्तडीमा पर्छ । मेल्तडीबाट खप्तड जान जम्मा अढाई घण्टा समय लाग्छ । त्यस्तै बाजुरा हुँदै खप्तड जान सडकबाट करिब सात/आठ घण्टा पैदल यात्रा गर्नुपर्छ । 

अछामबाट जाने हो भने पनि सवारीसाधन पुग्ने ठाउँबाट करिब चार/पाँच घण्टा समय लाग्छ । डोटीबाट जाँदा मूल प्रवेशद्वार झिग्रानाबाट सात घण्टा उकालो हिँडेपछि खप्तड पुगिन्छ । बझाङकै छान्ना क्षेत्रका सबै वडाबाट खप्तड जान थोरै समय लाग्छ । चारवटै जिल्लाका स्थानीयलाई खप्तड जान भने बझाङका विभिन्न ठाउँलगायत बाजुरा (साविकको काँडा गाविस), अछाम (साविकको खप्तड गाविस) र डोटी सायल, झिग्राना, काँडामाडौंबाट खप्तड प्रवेश गर्न सजिलो पर्छ । 

खर्च, समय र आवश्यक सामग्री कति ? 

काठमाडौंबाट खप्तड पुग्न, घुम्न र फर्कन ठूलो खर्च लाग्दैन । काठमाडौंबाट हवाईजहाजमा धनगढी पुग्न चार हजारदेखि ८ हजारसम्मको टिकट लाग्छ । त्यस्तै धनगढी-बझाङ हवाई टिकट पाँच हजार रुपैयाँ तोकिएको छ । हवाई यात्रामा करिब १० हजार खर्च हुन्छ बझाङ पुग्दा । बसमा जाँदा १५ सय रुपैयाँमा १५ घण्टापछि कैलालीको अत्तरिया पुगिन्छ । अत्तरियाबाट खप्तड जानका लागि खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसम्म एक हजार रुपैयाँ गाडी भाडा लाग्छ । बेलुका गुडेको गाडी भोलिपल्ट बिहान तमैल बजार हुँदै करिब १२ बजेसम्ममा मेल्तडी बजार पुग्छ । 

मेल्तडी खानाखाजाको खाएर एकछिन आराम गरेर हिँडेपछि दिउँसो २-३ बजे खप्तड पुगिन्छ । डोटीबाट जाँदा अत्तरियाबाट १० घण्टामा झिग्राना बजार पुगिन्छ । अत्तरियादेखि झिग्रानासम्म ८ सय रुपैयाँ गाडीभाडा लाग्छ । हवाईजहाजमा कैलाली-दिपायल ३५ सय रुपैयाँ लाग्छ । काठमाडौंबाट खप्तड गएर काठमाडौं फर्किंदा एक साताको भ्रमण अवधिमा हवाईजहाज भएर जाँदा २५-३० हजार रुपैयाँ खर्च लाग्छ भने गाडीबाट जाँदा १४-१५ हजार रूपैयाँ लाग्छ । 

खप्तडमा खाने-बस्ने प्रबन्ध राम्रो छ । तर पनि पाल, स्लिपिङ ब्याग, ड्राइफुड, ज्याकेट, रेनकोट, ऊनीको टोपी, मोजालगायतका न्याना कपडा बोक्नुपर्ने हुन्छ । त्यस्तै बडी लोसन तथा प्राथमिक स्वास्थ्य सामग्री पनि अनिवार्य लैजानुपर्छ । खप्तडको मौसम पानी पर्दा सहनै नसक्ने चिसो हुन्छ । क्षण-क्षणमै मौसम परिवर्तन हुन्छ । १० मिनेटको फरकमा पानी पर्ने र घाम लाग्ने गर्छ । पानी परेपछि ती रमाइला फाँटहरु एकैछिनमा जलासयमा परिणत हुन्छन् । तर, पानी धेरैबेर अडिँदैन । पानी पर्न छाड्नेबित्तिकै जमिन सुक्खा भइहाल्छ । यो खप्तडको विशेषता हो ।

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन