मर्स्याङ्दी किनारमा विरक्तिरहेछ तालगाउँ


कार्तिक २६, २०७८ मा न्युज कारोबारमा प्रकाशित समाचार

भूमिराज पिठातोली

काठमाडौं । दुई दिनदेखि लगातार पानी परेपछि कान्छीमाया गुरुङको होटलमा ग्राहकको संख्या घटिरहेको थियो । उनले ग्राहकलाई साँझको झिसमिसेमै खाना खुवाएर आ-आफ्नो कोठामा सुत्न पठाइसकेकी थिइन् । होटलमा तातो-चिसो पानीको व्यवस्था दिउँसै गरेको हुँदा उनले साँझपख तल-माथि गरिरहनु पर्दैनथ्यो । झरी परिरहेकाले सदाझैं बाहिर डुलिरहने अवस्था पनि थिएन । 

झरी परे पनि जेठको अन्तिमसम्म मनाङको तालगाउँको रौनक कम थिएन । डाडैडाँडाको बीच, हिमालको फेदीमा कञ्चन मर्स्याङ्दी नदी किनारको सुन्दर बस्ती त्यसैमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचोले थियो । बस्तीकै माथिपट्टी छङ्छङी बगेका झरनाहरुले तालगाउँ थप शोभायमान देखिन्थ्यो ।

निरन्तरको झरीसँगै मर्स्याङ्दी नदीको बहाव पनि बढ्दै थियो । भ्रमणमा आएका पर्यटकहरु पनि बेसींतिर झर्दै थिए । जेठ मसान्तसम्म झरी परे पनि सामान्य दैनिकीमै थिए तालवासीहरु । जेठ ३२ गते राति खाना खाएर सुतेका उनीहरुमाथि एक्कासी मध्यरातमै ब्रजपात पर्‍यो । सलल बगिरहेको मर्स्याङ्दी नदीले बाटो मोड्ला भनेर कसैले कल्पनासमेत गरेका थिएनन् । कल्पनामै नआएको कुरा मध्यराति ‘सपना कि विपना’ जस्तै भयो । मर्स्याङ्दीमा बाढी आएर तालगाउँको पुल बन्द भएपछि राति २ बजेदेखि बस्ती डुब्दै गयो ।

मनाङको नासों गाउँपालिका-१, तालगाउँबासीलाई गएको असार १ गते कालो दिन भयो । मर्स्याङ्दीले तालबासीको खुसी, सुख सबै एक झड्कामै खाल्डोमा पुर्‍यायो । हिमाली क्षेत्रकै सबैभन्दा सुन्दर मानिने तालगाउँ बजार क्षणभरकै बाढीले तहसनहस बनायो । राति दुई बजेदेखि डुबानमा पर्दै आएको सो बस्ती बिहानसम्म बगरमै परिणत भयो । तालवासीले भिरतर्फ भागेर ज्यान जोगाए ।

ताल गाउँको सबैभन्दा पुरानो होटल स्प्रिङ गेष्ट हाउसका सञ्चालक बलबहादुर गुरुङ भन्छन्, ‘मेरो परिवारमा पाँच जना छौं । त्यो दिन हामीलाई छिमेकीले नब्यूँझाएको भए घटनाले अर्कै मोड लिने रहेछ । अहिले पनि हामीलाई असार १ को बाढीले झस्काइरहन्छ ।’ बलबहादुरले गेष्ट हाउसबाटै आम्दानी गरेर सन्तानलाई राम्रो शिक्षा पनि दिइरहेका थिए । तालगाउँमा उनको नदीकै किनारामा तरकारी राम्रै फल्ने जमिन पनि थियो । तर, असार १ को बाढीले न गेष्ट हाउस रह्यो, न तरकारी बारी नै । उनी मात्रै होइनन्, गुरुङ बस्ती रहेको तालगाउँमा दुई चार होटलबाहेक सबै बगरमा परिणत भए । ‘हामी आफूलाई पर्याप्त भएर अरुलाई सहयोग गथ्र्यौं, अहिले हामी नै दाताहरुको खोजीमा छौं,’ बलबहादुर समस्या सुनाए ।

तालगाउँमा आउने विदेशीहरुले ‘स्वीट्जरल्याण्डभन्दा आकर्षक ठाउँ’ भन्दै प्रशंसा गर्थे । झट्ट हेर्दा पनि खुबै रमाइलो थियो तालगाउँ । ‘क्षणभरमै बाढीले बगर बनायो,’ केही दिनअघि तालगाउँमा भेटिएका बलबहादुरले पीडा सुनाए । नासों गाउँपालिकाले नै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा तालगाउँलाई प्रवर्द्धन गर्ने तयारी गरिरहेको थियो । उनी भन्छन्, ‘पर्यटकीय क्षेत्रमा गाउँपालिकाको पनि पहिलो रोजाई तालगाउँ नै थियो । तर, क्षणभरकै बाढीले यो हालत बनायो ।’

बाढी आएर अर्बौंको क्षति भएको चार महिना बितिसक्दा पनि तालवासीले राहतको महशुस गरेका छैनन् । सरकारी निकायबाट दर्जनौंपटक हेलिकप्टरमार्फत् अनुगमन गरे पनि राहतको नाममा दुई/चार बोरा खाद्यान्नबाहेक केही नपाएको कान्छी गुरुङले बताइन् । ‘बाढी आएको बेलामा यहाँका गाउँलेहरु जसोतसो भागेर ज्यान त जोगाए । तर, अहिले सडकमै ज्यान सुक्ने अवस्था आयो,’ उनले भनिन् । असारको पहिलो साता परेको वर्षाले मनाङमा बाढीपहिरोले मानवीय क्षति नपुर्‍याए पनि अर्बौंको भौतिक क्षति पुर्‍याएको उनले बताइन् । 

मनाङको बाढी प्रभावित क्षेत्रमा सरकारका सबै निकायले दर्जनौंपटक हेलिकप्टरबाट अनुगमन गरिसकेका छन् । कयौंपटक त ‘अनुगमनकारीहरु’को हेलिकप्टर जिल्ला सदरमुकाम चामेबजारबाटै फर्किएको बलबहादुर बताउँछन् । ‘हामी राहतको पर्खाइमा हुन्छौं । दैनिकजसो हेलिकप्टरले अनुगमन गर्छ । हेर्दा-हेर्दै डाँडा कटिहाल्छ । अहिले त आकाशमा फन्को मार्ने यस्ता हेलिकप्टरबाट केही होला भन्ने आशै मारिसकेका छौं ।’ बाढी पहिरोले बितण्डा मच्चाएको ५ महिना पुग्नै लाग्दा पनि अहिलेसम्म आफूहरुको न सुरक्षित व्यवस्थापन न त राहत नै पाएको उनले बताए ।

पुनर्वासको पर्खाइमा तालबासी

करिब पाँच महिनाअघि गाउँ नै डुवानमा परेर बगर बनेपछि त्रिपालको भरमा बस्दै आएका छन् बाढीपीडित । ५९ घर पूर्ण क्षति भएपछि पीडितहरु गाउँमाथिको डाँडामा बस्दै आएका छन् । बगर बनेको स्थानमा बस्न नमिल्ने भएपछि उनीहरु पुनर्वासको पर्खाइमा छन् । तर, उनीहरुको पीडा सुन्ने कसले ? अहिले पनि तालवासीहरु आकाशमा बादल देखेपछि बचेका घरमा बस्न सकिरहेका छैनन् ।


‘पाँच महिना पुग्नै लाग्यो, त्रिपालमा बसेर बगर भएको गाउँ हेरिरहन बाध्य छौं, खानेकुरा कसले देला, पुनर्वास कहिले होला भन्दै दिन बित्छ,’ कान्छीमाया कथाव्यथाको बेलिविस्तार लगाउँछिन्, ‘यो उमेर भयो । अहिलेसम्म मर्स्याङ्दीले क्षति पुर्‍याएको थाहा थिएन । यो पटक भने स्वर्गजस्तै ठाउँ चुँडेरै लग्यो ।’ अब फेरि तालगाउँमा बस्ती बसाउन सक्ने अवस्था नभएको उनी बताउँछिन् । ‘अब कहाँ जाने, के खाने, कता बस्ने भन्ने चिन्ता लाग्छ । विस्थापित परिवारका लागि सरकारले नै व्यवस्था गरिदिए हुन्थ्यो,’ बगर बनेको बस्तीतर्फ टोलाउँदै उनी भन्छिन् ।

छैन सरकारको उपस्थिति

तालमा बाढी आएपछि संघ संस्थाहरुले सक्दो सहयोग गरे पनि सरकारको उपस्थिति नहुँदा सरकारविहीनजस्तै भएको पीडितहरुको गुनासो छ । ‘यो क्षेत्रमा विभिन्न परोपकारी संघ संस्था तथा दाताहरुले खाद्यान्न सहयोग गरे, लुगाकपडा, भाँडाकुँडा सहयोग गरे । तर, सरकारबाट भने आश्वासनबाहेक केही प्राप्त गरेका छैनौं,’ कान्छीमायाको आक्रोश छ ।

पूर्ण रुपमा क्षति पुगेको ठाउँमा पनि प्रदेश र केन्द्र सरकारको उपस्थिति नहुनु दुःखद कुरा भएको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउँछन् । न्युज कारोबारसँग कुरा गर्दै उनले भने, ‘तालवासीलाई दुःख परेको अवस्थामा हामीले गर्नुपर्ने सहयोग गरिरहेका छौं । तालवासी मात्रै नभई गाउँपालिकाभरि नै बाढीपहिरोले क्षतविक्षत बनाएको छ,’ उनले गाउँपालिकाको स्रोतले सकेजति सहयोग गरिरहेको बताए । ‘गाउँपालिकाभरि सयौं पीडित छन् । हाम्रो स्रोतले सक्ने जति सहयोग गरिरहेकै छौं । हामीले सक्ने सहयोगले मात्रै पीडितलाई पुग्दैन,’ उनले माथिल्लो निकायले पनि सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित समाचार लिंक

मर्स्याङ्दी किनारमा विरक्तिरहेछ तालगाउँ

प्रदेश र केन्द्र सरकारले तालवासीहरु आफ्ना नागरिक नै नभएजस्तो व्यवहार गरिरहेको उनले आरोप लगाए । ‘राहतको नाममा आश्वासन मात्रै दिइरहेको छ । आश्वासनले मात्रै पीडितहरुको पेट भरिँदैन,’ उनले भने । अध्यक्ष घलेका अनुसार नासों गाउँपालिकाभरि बाढीपहिरोले क्षति पुर्‍याएपछि क्षतिको विवरण हेरेर पूर्ण क्षति भएका परिवारलाई एक लाख, आंशिक क्षति भएकालाई ५० हजार र कम क्षति पुर्‍याएका परिवारलाई ३० हजार रुपैयाँका दरले सहयोग गर्ने पालिकाले निर्णय गरेको छ । ‘नासों गाउँपालिकामा मात्रै एक अर्बभन्दा बढीको भौतिक क्षति पुगेको छ,’ उनले भने, ‘विपदमा भएको सबै क्षतिको गाउँपालिकाले व्यहोर्न सक्दैन । विस्थापित बाढी प्रभावितको स्थानान्तरणका लागि पटक-पटक प्रदेश र संघीय सरकारसँग सहयोगको समन्वय गर्दा पनि नसुनेझैं गरिरहेको छ ।’

नेपाल सरकारले बाढीपहिरो पीडितलाई राहतस्वरुप प्रतिपरिवार पाँच लाख रुपैयाँका दरले दिने निर्णय गरेको छ । उक्त रकम ६० प्रतिशत केन्द्र सरकार, ३० प्रतिशत प्रदेश र १० प्रतिशत स्थानीय तहले दिने निर्णय भएको हो । तर, निर्णय भएको महिनौं बित्दा पनि विस्थापित परिवारले सहयोगको सो रकम पाएका छैनन् ।

पर्याप्त व्यवस्थापन गरेको दाबी गर्दै सरकार

जाडोयाम सुरु हुँदा पनि तालगाउँका १६ परिवार अहिले पनि त्रिपालमै कठ्यांग्रिरहेका छन् । उनीहरु अहिले सरकारले गर्ने स्थानान्तरणभन्दा पनि कम्बलको आश गरिरहेका छन् । अर्को ठाउँमा सार्ने वा यतै व्यवस्था गर्ने सरकारको निर्णयभन्दा पनि अहिलेका लागि न्यानो कम्बल पाए हिउँदे सिरेटोबाट ज्यान जोगाउन सकिन्थ्यो कि भन्ने लागेको पीडित कान्छीमायाले बताउँछिन् । ‘यस्तो विपदमा पनि सरकारले नहेर्ने भए हामीलाई सरकारको के अर्थ ? के काम ?’ उनी प्रश्न गर्छिन् ।

गृह मन्त्रालय भने पीडितहरुलाई धेरै सहयोग गरेको दाबी गरिरहेको छ । न्युज कारोबारसँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने, ‘उहाँहरुलाई जति सहयोग गरे पनि पुग्दैन । हामीले हेलिकप्टरका हेलिकोप्टर खाद्यान्न उपलब्ध गराएका छौं । उहाँहरुले कहिल्यै सहयोग गर्‍यो भन्नु भएन ।’ पीडितले राहत नपाएको कुरालाई उनी ठाडै अस्वीकार गर्छन् । प्रवक्ता पोखरेल भन्छन्, ‘चाहिने जति सरकारले सहयोग गरिरहेको छ । उद्दार गर्न हेलिकप्टर पठाएका थियौं । अहिले खाद्यान्न हेलिकप्टरबाटै उपलब्ध गराएका छौं । उहाँहरु सहयोग नै गरेन भन्नुहुन्छ ।’

Comments

Popular posts from this blog

पत्रकारितामै नैतिक संकट

प्रधानमन्त्रीसहित तीन मन्त्रीको ‘समृद्धिको सेतु’ : १२ वर्ष बित्यो, ट्रयाकसमेत खुलेन

विपदमा पीडितको टेको बन्दै धीरा खत्री