अब सुनिने छैनन् अंग्रेजी देउडा, अस्ताए अंग्रेजी बाजे
मंसिर ४, २०७८ मा न्युज कारोबारमा प्रकाशित समाचार
भूमिराज पिठातोली
काठमाडौं ।
अंग्रेजीमा देउडा गाउँछन्, मिस्टर धनराज जोशी
ती गाउँछन् चौबीसै घण्टा, जस्तै बग्छ कोशी
देउडाका हरफमा भनेजस्तै मछानीपातलमा हरेकको कानमा दिनहुँ गुञ्जिरहने देउडिया हुन्, ‘अंग्रेजी बाजे’ अर्थात् धनराज जोशी । वाक्यैपिच्छे देउडा, पाइलैपिच्छे देउडा, बाटोमा देउडा, समाजमा देउडा, समूहमा देउडा गाउने हुँदा छान्नावासीले उनको नाम नै राखिदिएका हुन् अंग्रेजी बाजे/देउडिया अंग्रेजी बाजे ।
दिनहुँ सुनिने त्यो स्वर, ती देउडा, ती अंग्रेजी शब्द गत महिनायता न बाटोमा, न पसलमा, न मछानीपातलमै सुनिएका छन् । देउडा गुनगुनाइरहने ति पूरुष कहिल्यै नफर्किने गरी अस्ताइसकेका छन् । देउडा पारखीहरुलाई टुहुरा बनाएर गएका छन् । अंग्रेजीमै देउडा गाउने पहिलो गायक अस्ताएपछि नयाँ सिकारुहरु पनि रुमल्लिएका छन् । गत कार्तिक २ गते देउडाप्रेमीका लागि कालो दिन नै भयो । बझाङमा आएको बेमौसमी वर्षासँगै घरनजिकै आएको पहिरोले उनीसँगै उनका सपनाहरु निल्यो । सुदूर तथा कर्णालीको संस्कृतिलाई देउडामार्फत् अन्तर्राष्ट्रियकरण गर्ने सपना पहिरोमै बिलीन भए । भोलिपल्ट मात्रै उनको पार्थिव शरीर दुई सय मिटर तल भेटियो ।
***
नेपालीमा मात्रै होइन । नेपाली देउडालाई उल्था गरेर अंग्रेजीमा ठ्याक्कै अन्त्यानुप्रास मिलाएर अंग्रेजी देउडा लेख्ने पहिलो गायक/लेखक हुन् उनी । छान्नामा उनले अंग्रेजी देउडा गाउँदा टोलाउनेहरु पछि बिस्तारै उनीसँगै सिक्न थालेका थिए । ‘पलेंटी राइस पलेंटी मिल्क, छान्ना इज रियल छान्ना, यु सुड फिल एसेम टु टेक रुपी फर माना’ यो देउडा गीत त धेरै चर्चित नै भयो । नेपालीमा ‘दूधे छान्नो भाते छान्नो, छान्नो त छान्नै हो, रुपियाँ मानाको खाँदा लाज त मान्नै हो ।’ यो देउडालाई देउडाप्रेमीहरुले अंग्रेजी हुबहु नबुझे पनि ‘मिल्के छान्नु राइसे छान्नु, छान्नु इज छान्नु’ भन्दै धेरैले गुनगुनाए पनि ।
अंग्रेजी बाजे गाउँ-गाउँ/विद्यालयहरुमा डुलिरहनुको एउटै उद्देश्य थियो, सबैले अंग्रेजी पढुन्, बुझुन् भन्ने । अन्तर्राष्ट्रिय स्तरमै अंग्रेजी भाषा अनिवार्य भएको भन्दै अंग्रेजीको महत्व सिकाउने अंग्रेजी बाजे धेरैका प्रिय थिए । बालबालिकाहरु त झनै उनको दम्पत्ती देखेर लोभिन्थे । पढ्नुपर्छ भन्दै चकलेट/पैसा दिने भएपछि बालबालिकाहरु नलोभिने कुरै भएन । विद्यालयहरुमा शैक्षिक सामग्री वितरण गरेपछि त जता भेटे पनि अंग्रेजी बाजेको वरिपरि बालबालिकाहरु झुम्मिन्थे । अंग्रेजीका नयाँ शब्द सिकेका बालबालिकालाई त खुसी हुँदै भेट भएको बेलामा कापी कलम नै किनिदिन्थे उनी ।
बझाङको खप्तडछान्ना गाउँपालिका-५, पिठातोलामा जन्मेका अंग्रेजी बाजेले तीन दशक छिमेकी जिल्ला बाजुरामा बिताए । बाजुरामा शिक्षण पेसा गरेका उनी २०६६ मा सेवा निवृत्त भएपछि देउडाको अन्तर्राष्ट्रियकरण गर्न जुटेका थिए ।
किशोरावस्थाको अन्त्यतिर विद्यालय
गाउँघरको काम गर्दै बित्यो धनराज जोशी उर्फ अंग्रेजी बाजेको बाल्यकाल । २००४ सालमा जन्मिएका उनलाई बझाङजस्तो विकट ठाउँमा पढ्न पाउनु त सपनाजस्तै थियो । सम्पन्न परिवारमा सातौं भाइको रुपमा जन्मिएका भए पनि उनले पर्याप्त माया ममता पाएनन् । पढ्ने उनको सपनामा कसैले पनि टेको लगाउन चाहेनन् । परिवारमा जोशीको जिम्मेवारी दिनहुँ गाइभैंसीको ग्वालो (हेरचार गर्ने व्यक्ति) र फुर्सदमा पसलको भारी बोक्ने मात्रै हुन थाल्यो । सडक सञ्जालको पहुँच धेरै टाढा भएको हुँदा टनकपुरबाट पसलको भारी बोक्नुपर्थ्यो । परिवारका अन्य सदस्यसँगै सक्ने जति भारी बोक्थे उनी । यसरी नै उनको बाल्यकालको १८ वर्ष बित्यो ।
जाेशी दम्पत्ति (स्व. धनराज जोशी र पद्मा जोशी
त्यसपछि घरमा उनले विद्रोह गरेर भागे । जिल्ला सदरमुकाम चैनपुरमा पुगे । उनको दिदीको पोइलीघर चैनपुरमै थियो । दिदीलाई पढाउन आग्रह गरे र १८ वर्षको उमेरमा विद्यालय भर्ना भए । परिपक्व उमेर भएका जोशी अरु बालबालिकासँगै बस्न र उनीहरु जस्तै देखिन जुँघा काटेर कक्षामा प्रवेश गर्थे । वर्षमा दुई महिना हुने विदामा भारतमा गएर चौकीदारी गर्ने र त्यसै पैसाले पढाई खर्च जुटाउँथे उनी । यसरी ८ वर्ष चैनपुरमा बिताए ।
२०२७ साल डोटीमा मेट्रिक परीक्षामा सामेल भएका जोशी भूगोल विषय बिग्रेर फेल भए । पछि दुई वर्ष भारतमा चौकीदारी गरेपछि फेरि २०२९ सालमा मेट्रिकको परीक्षा दिएर उत्तीर्ण भए । पछि फेरि उनी भारतमै गए । अंग्रेजी भाषा सिक्ने हावा लागेका उनी भारत क्याम्पसमा भर्ना भए । यद्यपि उनले भारतमा सबै विषय पास गर्न भने सकेनन् । त्यो बेलासम्म जोशी अंग्रेजी भाषामा दख्खल राख्ने भइसकेका थिए । उनी सबै विषयको परीक्षा नै अंग्रेजी भाषामै दिन थाले । भारतमा करिब ६ वर्ष बसेपछि नेपाल फर्किए ।
***
भारतमा बसेकै बेलामा पूर्वी नेपालकी (इलाम) पद्मा जोशीसँग उनको विहे भयो । आफन्तको सहयोगमा उनले २०३५ सालको फागुनमा विहे गरे । त्यो बेला जोशी ३१ वर्षका थिए । विहेको रमाइलो प्रसंग सुनाउँदै एक अन्तर्वार्तामा भनेका थिए, ‘म १० कक्षा मात्रै पढेको थिएँ, उनी आइए पढेकी थिइन्, त्यो बेलामा झुट बोलेर बीए पढेको हुँ भनेपछि विहे भएको हो ।’
पद्मा पूर्वी नेपालमा जन्मिएर भारतको मन्टेश्वरीमा अध्ययन गरेकी थिइन् । अंग्रेजी भाषामा दख्खल राख्ने उनलाई जीवन साथी अंग्रेजी नै बुझ्ने चाहिएको थियो । त्यो बेलामा धनराज पनि अंग्रेजीमा अब्बल भइसकेका थिए । १५ वर्ष कान्छी पद्मासँग विहेपछि जोशी दम्पत्ति नै नेपाल आए । शिक्षण पेशामा आवद्ध भए ।
३५ वर्ष शिक्षा सेवा
भारतबाट २०३५ सालमा नेपाल आएपछि जोशी दम्पतीलाई शिक्षकका लागि आह्वान भयो । गाउँनजिकै धनराज स्थानीय पाटादेवल र पद्मालाई बालविकास प्राविमा सिफारिस भएको थियो । शैक्षिक प्रमाणपत्र नभएको हुँदा ६ महिनापछि प्रमाण बुझाउने भन्दै तत्कालीन जिल्ला शिक्षा अधिकारीले सिफारिस गरेका थिए । त्यसै बेला छिमेकी जिल्ला बाजुरामा शिक्षकका लागि माग गरियो । बझाङमा दुई जनाकै तलब गरेर २५० रुपैयाँ मात्रै थियो । बाजुरामा दुई जनाको एक हजार पाँच सय रुपैयाँ तलब दिने भएपछि उनीहरु बाजुरामा अध्यापनका लागि गए ।
बाजुरा गएको एक वर्षमै धनराजले स्थायी नियुक्ति पाइसके भने पद्माको भारतको प्रमाणपत्र भएको हुँदा केही समय लाग्यो । पछि दुवै जना स्थायी भएर बाजुरामै ३५ वर्ष सेवा गरे । सुरुमा बाजुरा साविकको कुल्देवमाडौं गाविसको भानोदय माविमा ६ महिना, ताँप्रामा ६ महिनामा अध्यापन गरे । ताँप्रामा शिक्षक भएकै बेलामा बाजुराको काँडा भवानी माविमा अंग्रेजी र गणित विषय पढाउने शिक्षकको माग भयो । जोशी दम्पती काँडामै गए । त्यहाँ १० वर्षसम्म सेवा गरे । त्यसपछि उनको सरुवा माटेसाँगु भयो । त्यो ठाउँमा ४ वर्ष बिताए । त्यसपछि देशमा बहुदल आयो ।
कांग्रेसको सरकार बनेपछि जोशी दम्पतीलाई हुम्ला र बाजुराको सिमानानजिकै महतीमा सरुवा गर्यो । त्यहाँ पनि उनीहरुले ४ वर्ष सेवा गरे । त्यसपछि धनराजलाई प्रधानाध्यापक बनाएर दहकोटको किम्नीमा सरुवा गरियो । त्यो ठाउँमा १६ वर्ष प्रधानाध्यापक भएरै सेवाबाट अवकास लिए । पद्माले पनि सँगसँगै ३५ वर्षसम्म बाजुराका विभिन्न विद्यालयमा अध्यापन गराइन् ।
सामाजिक कार्य
विद्यार्थीलाई पढाउनु र अभिभावकलाई पढाउन प्रेरित गर्नु नै जोशी दम्पत्तीको सबैभन्दा ठूलो सामाजिक कार्य हो । उनीहरु शिक्षक हुँदा होस् या नहुँदा पनि हरेक ठाउँमा गएर आफूले सक्ने सहयोग गर्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्थे । त्यसैमा पनि अन्तर्राष्ट्रिय स्तरमै अनिवार्य भइसकेको अंग्रेजी भाषा त सिक्नैपर्ने उनीहरुको तर्क थियो । अभिभावकको मन जित्थे र बालबालिकाहरु पढ्न पाउँथे ।
जोशी दम्पत्ति
सेवा निवृत्त भएपछि गृह जिल्ला बझाङका विभिन्न स्कुलमा गएर विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्नुका साथै उनीहरुले विपन्न विद्यार्थीहरूले पनि अंग्रेजी पढ्न पाउनुपर्छ भन्ने अभियान नै चलाए । आफैंले तीन महिने अंग्रेजी भाषा शिक्षण कोर्स नै तयार गरेर निःशुल्क अंग्रेजी सिकाउने तयारीसमेत उनले गरेका थिए ।
बाल्यकालदेखिकै देउडिया भूत
बाल्यकालमा गोठालो जाँदा देखिकै देउडा गुनगुनाउथे धनराज जोशी । भारी बोक्दै गर्दा थकान मार्ने बेलामा सुस्केरा हाल्दै देउडा सुनाइहाल्थे उनी । ‘उनीसँगै हिँड्ने भरिया त जोशीसँग हिँड्दा बाटो टुंगिएको थाहै हुँदैन थियो रे,’ उनले एक अन्तर्वार्तामा भनेका थिए ।
उनी भारतमा चौकीदारी गर्ने बेलामा पनि नेपालीलाई देउडा सुनाउथे । कहिलेकाँही त फुर्सदमा नजिकै रहेका नेपालीहरु जोशीका देउडा सुन्न आउँथे र रमाइलो गर्थे । त्यसपछि उनले देउडाको धार फेरे । शेक्सपियरले लेखेको एउटा पुस्तकमा देउडाजस्तै एउटा रचना फेला पारे । त्यो रचना नै उनका लागि प्रेरणा भयो । अंग्रेजीमा सबैले जे पनि गर्न सक्ने तर, हामीले अंग्रेजीमा देउडा किन लेख्न नसक्ने भन्दै त्यसमा प्रयास गरे । अन्त्यानुप्रास जोड्ने कोसिस गरे । सफल पनि भए । अहिले जोशीको ‘देउडा इन इंग्लिस’ नामक पुस्तक प्रकाशनसमेत भएको छ । त्यसको अर्को संस्करण तीन वर्षअघि बजारमा आएको छ । अंग्रेजी देउडा संग्रहको तेस्रो पुस्तकको तयारी गरिरहेकै बेलामा उनी परलोक भए ।
केही देउडाहरु
नेपालीमा
अंग्रेजीमा देउडा गाउँछन्, मिस्टर धनराज जोशी
ती गाउँछन् चैबीसै घण्टा, जस्तै बग्छ कोशी ।
अंग्रेजीमा
हु सिंग्स देउडा इन् इंग्लिस, मिस्टर धनराज जोशी
हि सिंग्स ट्वेन्टी फोर आवर्स, लाइक फ्लोइंग कोशी ।
नेपालीमा
जयपृथ्वी शिक्षाप्रेमी ओजस्वी हुन् राजा
बझाङीलाई शिक्षा दिने जनताका साजा ।
अंग्रेजी
वि ह्याव गट् प्रेज्वर्दी हिरो जयपृथ्वीबहादुर सिंह
बझाङीज अर एजुकेटेड् बाइ दिस् नोबल् किंग ।
नेपाली
काल बैरी कैल प आउँदो, लाग्या कै छ मार्न
यो ज्यादै निष्ठुरी हुन्छ, को सक्दछ टार्न ।
अंग्रेजी
क्रुएल डेथ इज् रेडी टु किल, वि क्यान लिभ बाइ द लक
इट इज् भेरी डिफिकल्ट, टु अभोइड डेथ्स् शक ।
नेपालीमा
दूधे छान्नो भाते छान्नो, छान्नो त छान्नै हो
रुपियाँ मानाको खाँदा लाज त मान्नै हो ।
अंग्रेजीमा
प्लेन्टी राइस, प्लेन्टी मिल्क, छान्ना इज रियल छान्ना
यु सुड फिल एसेम टु टेक रुपी फर माना ।
Comments
Post a Comment